Latest News

सत्तापक्षका अनुहारमा लेण्डुप दोर्जेको छायाँ देखिन थाल्यो : एमाले सांसद गंगा चौधरी

Nepalese Times July 26, 2022 (2 Year ago)    466 Views

काठमाडौं ।

नागरिकता विधेयक पारित गरेकोमा प्रमुख प्रतिपक्षी दलकी एक सांसदले सत्तापक्षका सांसदलाई लेण्डुप दोर्जेको संज्ञा दिएकी छन् । एमाले सांसद गंगा चौधरीले दिल्लीको भ्रमण गर्ने नेपाली नेतामा लेण्डुप दोर्जेको छायाँ देखिन थालेको भन्दै कटाक्ष गरिन् ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद चौधरीले नागरिकता विधेयकको संशोधनमा लेण्डुप दोर्जेको छायाँ देखिएको बताएकी हुन् ।

‘सभामुख महोदय, मेरो दृष्टि भ्रम हो या सबैले यस्तै देखिरहेका छन्, सभामुखको दायाँपट्टी बस्ने सबैको अनुहारमा लेण्डुप दोर्जेको याद दिलाएको छ । नपत्याए नागरिकता विधेयकको संशोधनमा हेरे हुन्छ ।

लेण्डुप दोर्जेलाई इन्दिरा गान्धीले दिल्लीमा रातो कार्पेट बिच्छ्याएर भव्य स्वागत गर्ने गरेकी थिइन् जबसम्म सिक्किम भारतमा विलय भएको थिएन’, चौधरीले भनिन्, ‘यसैगरी आजभोलि नेपाली नेतालाई दिल्लीमा भव्य स्वागत गर्न थालिएको छ । यसैले सभामुख महोदय उहाँहरूको अनुहारमा लेण्डुप दोर्जेको छायाँ देखिन थालेको छ ।’

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै गरेको दिल्ली भ्रमणप्रति लक्षित गर्दै कटाक्ष गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस