Latest News

जेठ १४ गते रातिको फुटेज भेटियो, सीसीटीभीमा देखिएका यी व्यक्ति को हुन् ?

Nepalese Times July 26, 2022 (2 Year ago)    512 Views

काठमाडौं । अर्थमन्त्रालयमा बाहिरी व्यक्तिको घुसपैठ भएको भनिएको १४ जेठको सीसीटीभी फुटेज रिकभर भएको छ ।

नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाले फुटेज रिकभर गरेर संसदीय छानबिन समितिमा पठाएको हो । प्रयोगशालाबाट प्राप्त भिडि‌ओ फुटेजहरू आज बिहान बसेको बैठकमा समिति सदस्यहरुले हेरेका थिए ।

१४ गते रातिको फुटेज भेटिएको तर, उक्त दृष्यमा मन्त्रालयभित्र रहेका मान्छेहरूको पहिचान हुन नसकेको एक सांसदले जानकारी दिए ।

रातिको दृष्यमा मान्छेहरूको अनुहार प्रष्ट नचिनिएको र यसलाई थप प्रष्ट पार्नका निम्ति विज्ञहरूसँग बसेर छलफल गर्ने निर्णय भएको ती सांसदले बताए । समितिले यस विषयमा एक्सक्लुसिभ समाचार लेख्ने पत्रकारसँग पनि थप सहयोग मागेको छ ।

अन्नपूर्ण पोष्टका पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापासँग समितिले सहयोग मागेको हो । पत्रकारहरूले आफूहरूसँग अर्थमन्त्रालयमा घुसपैठको प्रमाण रहेको बताइरहेका छन् । तर, समितिलाई उपलब्ध गराउन चाहेका छैनन् ।

बजेट निर्माणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय विशेष समितिले प्रहरीको प्रयोगशालाका विज्ञसँग छलफल गर्ने  निर्णय गरेको छ ।

प्रयोगशालाबाट प्राप्त विवरण प्राविधिक रहेकाले त्यसको विश्लेषणका निम्ति विधि विज्ञान प्रयोगशालाका विज्ञलाई बोलाइएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए।

‘प्रहरीको प्रयोगशालाबाट प्राप्त विवरण निकै प्राविधिक रहेकाले त्यसको विश्लेषणका निम्ति हामीले विज्ञहरुसँगै छलफल गर्न लागेका हौँ,’ उनले भने।

समितिको बैठक दिउँसो चार बजे बोलाइएको छ। बिहान ८ बजेको बैठकमा प्रयोगशालाबाट प्राप्त विवरण खोलिएको थियो।प्रयोगशालाले सोमबार समितिलाई अर्थ मन्त्रालयको सिसिटिभी फुटेजबारेको विवरण शिलबन्दी गरेर पठाएको थियो।

अर्थमन्त्रालयले सिसिटीभी फुटेज १३ दिनसम्म मात्रै रहने दाबी गरेपछि त्यसलाई रिकभरी गर्न सकिने नसकिने निर्क्यौलका निम्ति समितिले प्रहरीको विधि विज्ञान प्रयोगशालाको सहायता लिएको हो। तत्कालीन अर्थमन्त्री शर्मामाथि बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएर राजश्वका दर हेरफेर गरेको आरोप लागेको छ।

यस आरोपबारे छानबिनका निम्ति असार २२ मा संसदीय छानबिन विशेष समिति गठन भएको थियो। समितिले असार ५ मा शर्मासँग बयान लिँदा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको आरोपलाई उनले अस्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस