Latest News

प्रेस युनियनको अध्यक्षमा लम्सालसहित अरू कुन पदमा को-को भए निर्वाचित ?

Nepalese Times July 24, 2022 (2 Year ago)    566 Views

काठमाडौं –

नेपाली कांग्रेस निकट पत्रकारको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् ।संस्थापन इतर समूहबाट प्रतिस्पर्धामा रहेका लम्साल संस्थापन पक्षका उम्मेदवार अनिता विन्दुलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । उनले संस्थापन पक्षका उम्मेदवार सरोज अधिकारीलाई पराजित गर्दै उनी विजयी भएका हुन्।

त्यस्तै, महासचिवमा पनि संस्थापन पक्षका उम्मेदवार जगन्नाथ दुलाललाई झन्डै दोब्बर मतान्तरले पराजित गर्दै संस्थापन इतर समूहका दिलिप पौडेल निर्वाचित भए।

त्यसैगरी, उपाध्यक्ष पदमा पनिं संस्थापन इतर समूहकै वर्चश्व रह्यो। खुला उपाध्यक्षमा लम्साल प्यानलबाट उम्मेदवार बनेका नकुल अर्याल निर्वाचित भए । खुला उपाध्यक्षमै अर्को एक कोटामा संस्थापन पक्षका भिष्मराज ओझा बिजयी भएका छन् भने कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल बिजयी भएका छन् ।

महिला उपाध्यक्षमा सलोजा दाहाल निर्वाचित भइन् भने उपाध्यक्ष उपत्यकामा जीवन भण्डारी, बागमतीमा मुरारी अधिकारी निर्वाचित भए।केन्द्रीय लेखा समिति संयोजकमा पदमराज जोशी विजयी भएका छन् । खुला सदस्यमा गिरीराज पोखरेल र घनश्याम पौडेल विजयी भए ।

प्रेस युनियन केन्द्रमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति समेत गरी १२० जनाको प्रतिनिधित्व रहनेगरी विधानमा व्यवस्था गरेको छ । जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १२, महासचिव १, उपमहासचिव ६, सचिव १७, कोषाध्यक्ष १ र केन्द्रीय सदस्य ७६ जना समेत गरी कुल ११५ जना रहने व्यवस्था छ ।

त्यस्तै, केन्द्रीय लेखा समितिमा संयोजक १ र सदस्य ४ जना समेत गरी ५ सदस्य रहने व्यवस्था छ । यस्तै कुल १२० वटा पदमध्ये ११८ पदका लागि उम्मेदवारी परेको थियो । दुई पदका लागि कुनै पनि मनोनयन दर्ता भएन भने उम्मेदवारी परेका ३१ पदमा निर्विरोध निर्वाचित भए ।

मनोनयन दर्ता नभएको पदमा अल्पसंख्यक महिला कोटाको केन्द्रीय सदस्य र उपत्यका महिला कोटाको केन्द्रीय सदस्य पद रहेको छन् । अल्पसंख्यक महिला केन्द्रीय सदस्यतर्फ १ जनाको कोटामा कुनै पनि मनोनयन दर्ता भएन ।

प्रतिक्रिया दिनुहोस