Latest News

जनार्दन शर्मा प्रकरणमा संसदीय समितिले गर्यो महत्वपूर्ण निर्णय

Nepalese Times July 24, 2022 (2 Year ago)    518 Views

काठमाडौं ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ गते राति सिंहदरबार प्रवेशद्वारको भिडियो नै हेर्ने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयसँग माग्दा जेठ १४ गते रातिको सीसीटीभी फुटेज फेला नपरेपछि समितिले सिंहदरबार प्रवेशद्वारकै भिडियो हेर्ने निर्णय गरेको एक सदस्यले बताए । समिति सचिवालयका अनुसार गृह मन्त्रालयसँग सिंहदरबारको दक्षिण र पूर्वी प्रवेशद्वारका सिसिटीभी फुटेज मागिएको छ ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रमम अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गराएको आरोप लागेपछि संसदीय छानबिन समिति गठन भएको थियो ।

छानबिन समिति गठन भएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । केही दिनअघि शर्माले बयानका क्रममा बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नातलाई इन्कार गरेका थिए ।

संसदीय छानविन विशेष समितिमा बिहिबार उपस्थित भएर शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश नै नभएको दाबी गरेका हुन्।पूर्व मन्त्री शर्माले यसअघि संसदलगायत ठाउँमा बोलिरहेका अभिव्यक्ति नै छानबिन समितिमा पनि दोहोर्‍याएका हुन्।अनधिकृत व्यक्तिको प्रवेशबारे आफ्नो कुरा पत्यार नलागे सुरक्षाकर्मी र मर्यादापालकसँग सोध्न सकिने उनको भनाई छ।

‘बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशनै भएको छैन। तपाईँहरूलाई मेरो विश्वास छैन भने सुरक्षाकर्मी र मर्यादापालकसँग सोधपूछ गर्नसक्नुहन्छ,’ बैठकमा उनले भनेका छन्।

समितिमा उनले सीसीटीभीमा फुटेज स्टोरेजको अवधि आफूलाई थाहा नभएको बताएका छन्। ‘सिसिटीभीले कहिलेसम्मको दृश्य राख्न सक्छ यस विषयमा म जानकार हुने कुरा भएन। यसबारे विज्ञहरुसँगै सोधपुछ गर्दा राम्रो होला। मबाट कसैलाई पोस्ने काम भएको छैन र हुनेछैन,’ समिति समक्ष शर्माले भनेका छन्।

उनले छानबिन समितिमा अर्थ मन्त्रालयकै अधिकारीहरूले स्थापित विधि, सिद्धान्त, मान्यताका आधारमा बजेट निर्माण गरिएको जिकिर गरेका छन्।

अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेका खबर आएपछि शर्माले गत असार २२ मा पदबाट राजीनामा दिएका थिए। उनीमाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बनेको थियो।

प्रतिक्रिया दिनुहोस