काठमाडौं ।
मन्त्री पद गएपछि असन्तुष्ट बनेका नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले नेकपा एमालेमा फर्कने भएका छन् । उनलाई यहि साउनको १५ गतेभित्र एक कार्यक्रम गरेर एमाले प्रवेश गराउने तयारी भएको नेकपा एमालेका एक नेताले बताए ।
प्रेम आले एकीकृत समाजवादीबाट ठूलो समूह बोकेर नेकपा एमाले प्रवेश गर्न लागेका र पार्टी प्रवेशका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले मिति तोक्ने तयारी गरेका छन् ।
सम्भवतः साउन १५ गतेभित्र नै प्रेम आले नेकपा एमाले प्रवेश गराउनका लागि एमालेका केही नेताहरु सक्रिय भएका स्रोतले जनाएको छ । आलेसँगै केही सांसद र एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरु नै एमाले प्रवेश गर्न लागेका स्रोतले जनाएको छ ।
पार्टी प्रवेश गर्नुअघि आफूलाई महत्वपूर्ण जिम्मेवारी दिनुपर्ने प्रेम आलेले माग राखेकोले त्यसको व्यवस्थापन गरेर साउन १५ गतेभित्र उनलाई पार्टी प्रवेश गराउने तयारी भएको बुझिएको छ ।
यसअघि पनि धेरैपटक एमाले प्रवेश गराउने तयारी भएको भएपनि महत्वपूर्ण जिम्मेवारीबारे निक्र्यौल नभएकोले पार्टी प्रवेश गर्न ढिलाई भइरहेको उनी निकट स्रोतले जनाएको छ ।
सत्ता गठबन्धन कायमै रहेको अवस्थामा आफूले संसदीय चुनावमा टिकट नपाउने बुझेका आलेले एमाले प्रवेश गर्नेवित्तिकै टिकट पनि सुरक्षित गर्न चाहिरहेका छन् ।
त्यसबारे एमाले अध्यक्ष ओलीले आवश्यक छलफलसमेत अघि बढाएका छन् । यसअघि उनले मन्त्री हुँदा ‘भाइरल मन्त्री’ का रुपमा आफूलाई चिनाएका थिए ।
आले पहिलोपटक वनमन्त्री हुँदा बोटविरुवाले कार्बनडाइअक्साइड फाल्छ भनी चर्चामा आएका थिए । उनको त्यो अभिव्यक्तिका कारण धेरैले उपहास गरे । सामाजिक सञ्जालमा भाइरल भयो ।
पहिलोटक उनी नेकपा एमालेका सांसद रहँदा मन्त्री बनाइएका थिए । त्यतिबेला केपी शर्मा ओली प्रधानमन्त्री थिए । पछि एमाले फुट्दा माधवकुमार नेपालको पक्षमा लागे । नेकपा एकीकृत समाजवादी पार्टीका नेता बने ।
आले माधव नेपालको पक्षमा लाग्दा धेरैले आश्चर्य माने । उनी ओलीका विश्वासपात्र मानिन्थे । तर, रातारात गुट परिवर्तन गरी मन्त्री पद सुरक्षित गरे ।
विगतमा नेपाली काँग्रेसमा रहेका उनी २०५१ मा नेकपा एमालेमा प्रवेश गरेका थिए । उनलाई धेरैले अस्थिर स्वभावको नेता मान्दछन् ।
५१ वर्षीय आले सुरुमा डोटीका वडा सदस्य थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पराजित भई २०७० को दोस्रो संविधानसभा निर्वाचनमा जितेका थिए । २०७४ सालको निर्वाचनमा विजयी भएका थिए ।