Latest News

पीडितलाई झनै पीडा गराउने धादिङ जिल्ला अदालतको आदेश, ज्यान मार्ने उद्योगको आरोपित सामान्य धरौटीमा छुटे !

Nepalese Times July 23, 2022 (2 Year ago)    1093 Views

धादिङ ।

जिल्ला अदालत धादिङले पीडितलाई झन् पीडा गराउने एउटा आदेश दिएको छ । धादिङ जिल्ला अदालतका न्यायाधीश रमेश प्रसाद ज्ञवालीको इजलासले ज्यान मार्ने उद्योग गरेको आरोप लागेका व्यक्तिहरुलाई सामान्य धरौटीमा छाड्न आदेश दिएको हो ।

निलकण्ठ नगरपालिका नगरपालिका ९ का गोकर्ण प्रसाद आचार्यमाथि ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोप लागेका ३ जनालाई जनही २५ हजार रुपैयाँ धरौटीमा छाडन् आदेश दिएसँगै पीडित पक्षले असन्तुष्टि जनाएको छ ।

गएको असार १४ गते मंगलबार न्यायाधीश ज्ञवालीको इजलासले प्रतिवादीहरु रमेश प्रसाद रिजाल, उमेश रिजाल र नवराज दुवाडीलाई मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा ६८ बमोजिम भन्दै जनही २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

तर, घाइते गोकर्ण आचार्यकी श्रीमती टिकादेबी कोइराला आचार्यले अभियुक्तहरुले ज्यान मार्ने उद्योग गरेको स्पष्ट प्रमाण पेश गर्दासमेत उन्मुक्ति दिएको भन्दै जिल्ला अदालत धादिङको आदेशप्रति असन्तुष्टि जनाएकी छिन् ।

पीडित गोकर्ण आचार्यले आफू बाँच्न नसक्ने अवस्था देखेपछि अन्तिम समयमा अभियुक्तको नाम र घटनासमेत लेखेर हस्ताक्षर गरेको कागजलाई नै प्रमाण मान्नुपर्ने र अभियुक्तहरुलाई सामान्य धरौटीमा छाड्न नहुने उनकी श्रीमती टिकादेबीको भनाइ छ । मृत्युको मुखमा पुगेको व्यक्तिले झुटो बोल्न नसक्ने भएकोले अन्तिम समयमा लेखिएको कागज नै स–प्रमाण भएकोले उनीहरुलाई हदैसम्मको कारबाही हुनुपर्ने पीडित पक्षको माग रहेको छ ।

मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा ६७ मा अभियोग लागेका अभियुक्त तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने भएमा वा कसुरदार हो भन्ने विश्वास गर्ने कुनै मानसिब आधार भएमा अदालतले त्यस्तो अभियुक्तलाई कारण खुलाएर पूर्पक्षका लागि थुनामा राख्नुपर्ने भनिएको छ ।

हेर्र्नुहोस् गोकर्ण आचार्यले अन्तिम अवस्थामा लेखेको कागज

पीडित व्यक्तिको अन्तिम अवस्था हुँदासमेत यस्तो आदेश आएसँगै न्यायाधीशको कार्यक्षमतामा नै प्रश्न उठेको छ । पीडित व्यक्तिलाई झनै पीडा हुनेगरी आदेश आएको भन्दै यसको विरोध भइरहेको छ ।

२०७९ साल बैशाख २३ गते राति ९ बजेको समयमा नीलकण्ठ नगरपालिका ९ नियालपानीस्थित सडक खण्डमा रमेश, उमेश र नवराज दुवाडीले जोखिम हतियारको प्रयोग गरेर अनुहार लगायत शरिरको विभिन्न ठाउँमा प्रहार गरेको घाईते गोकर्णको भनाइ छ । उनीहरुले आफूलाई अचेत अवस्थामा छाडेर भागेको आचार्यको आरोप छ ।

घटना के भएको हो ?

गएको बैशाख २३ गते राति ९ बजे गोकर्ण आचार्य घर फर्कंदै थिए । त्यसै क्रममा रातिको समयमा एकान्तमा पारेर आफूमाथि आक्रमण भएको गोकर्णको भनाइ छ ।

घटना हुनुभन्दा अघिल्लो दिन पनि उनीहरुले आफ्नो ज्यान लिने कुरा गरेको गोकर्णको हस्तलिखितमा उल्लेख छ । आरोपित व्यक्तिहरु रमेश, उमेश र नवराजले पहिलेदेखि नै आफ्नो ज्यान लिने योजना बनाएको र हटिया र सार्की गाउँको बीच एकान्त कुनामा आफूमाथि आक्रमण भएको गोकर्णको भनाइ छ ।

यसअघि प्रतिवादीमध्ये उमेश रिजालले ‘यसलाई सिध्याइदिउँ’ भनेर भन्दा नवराजले ‘म बेहोर्र्छु’ भनेको र त्यसलगत्तै एकान्त कुनामा एक्कासी आफूमाथि आक्रमण गराएको पीडितको भनाइ छ ।

आरोपितहरु रमेश रिजाल, नवराज दुवाडी र उमेश रिजाल

उनले आफू नबाँच्ने लागेर लेखेको कागजमा उल्लेख भएअनुसार आक्रमण गर्नेहरुलेसबैभन्दा पहिले आँखामा प्रहार गरेका थिए । त्यसपछि घिर्चोमा समातेर मुख च्यातेर घाँटी निमोडे, अब त मर्यो भनेर छाडिदिए ।

त्यसपछि गोकर्ण त्यस ठाउँबाट तल दौडन सफल भए । गोकर्ण ठूलोकान्छा लम्सालको घरमा खाटमा सुत्न लाग्दा अभियुक्तहरुले त्यहिँ गएर लछारपछार गरे । अब त मर्यो भनेर नालामा फ्याँकिदिए । गोकर्ण घस्रँदै चौतारामा आएर बसे । भोलिपल्ट विहान स्थानीय मानिसहरुले फेला पारेर उद्धार गरेर अस्पताल लगे ।

घटनालगत्तै उनकी श्रीमती टिकादेबीको जाहेरीको आधारमा आरोपित तिनै जनालाई प्रहरीले समातेको थियो । आफूहरुबीच पुरानो रिसिबी रहेकोले आफ्नो श्रीमानको ज्यान लिने उदेश्यले यस्तो घटना गराएको टिकादेबीको भनाई छ ।

आरोपितहरुले घटना गराएको प्रमाणसहित आफूहरुले पेश गरेकोले उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १८३ को उपदफा १ बमोजिमका कारबाही हुनुपर्ने पीडित पक्षको माग छ ।

कस्तो छ गोकर्ण प्रसाद आचार्यको अवस्था ?

घाइते गोकर्ण प्रसाद आचार्यको अवस्था अहिले नाजुक बन्दै गएको छ । उनको उपचारका लागि ५ लाखभन्दा धेरै खर्च भइसकेको छ । अहिलेसम्म आरोपित व्यक्ति वा कतैबाट पनि उपचार खर्च भराउने काम नभएको उनकी श्रीमती टिकादेबीको भनाइ छ ।

टिकादेबीका अनुसार गोकर्णलाई घाँटीबाट पाईपमार्फत खानेकुरा दिने गरिएको छ । अहिले पनि उनी बोल्न सक्दैनन् । आर्थिक अभावका कारण उनको स्वास्थ्य अवस्था निक्कै नाजुक हुँदासमेत अस्पतालबाट डिस्चार्ज गरेरल्याउनुपनरेको गोकर्णकी श्रीमती टिकादेबीको भनाइ छ ।

उपचारका लागि केही व्यक्तिहरुले आर्थिक सहयोग गरिरहेका र केही रकम सरसापट गरेर चलाइरहेको टिकादेबीले बताएकी छिन् ।
घाइते व्यक्तिको अन्तिम अवस्था हुँदासमेत आक्रमण गर्ने व्यक्तिहरुलाई सामान्य धरौटीमा छाडिदिँदा आफूले न्याय नपाउने हो कि भन्ने लाग्न थालेको टिकादेबीले बताएकी छिन् ।

आरोपितहरुले ज्यान मार्ने उद्योग गराएको बलियो प्रमाण आफूले पेश गरेकोले उनीहरुलाई फेरि पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने टिकादेबीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस