काठमाडौं । नेपाली कांग्रेसका नुवाकोट जिल्ला नेता मधुसुदन पाण्डे पक्राउ परेका छन् । पाण्डे हाल कास्की प्रहरीको हिरासतमा छन् ।सामूहिक बला–त्कारका अर्का आरोपी राजु राउत भने फरार रहेका छन् ।
‘बलात्कार आरोपपछि पाण्डेलाई पक्राउ गरिएको र आरोपी राजु राउत भने फरार रहेका कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
पीडित युवतीले महानगरीय प्रहरी वृत्त मालीगाउँमा जाहेरी दिए पनि घटना पोखरामा भएको भन्दै कास्की प्रहरीलाई पठाइएको थियो । जाहेरी दर्ता भएपछि पाण्डे पक्राउ परेका थिए ।
पाण्डे नुवाकोट क्षेत्र नम्बर २ प्रदेश ‘क’ का प्रवक्तासमेत हुन् । उनी गत असार २५ गते मनमैजुस्थित आफू सञ्चालक रहेको क्लब लोटसबाट पक्राउ परेको बुझिएको छ । फरार राउत भास्ट वीन इन्जिनियरिङ कन्सल्टेन्सीका सन्चालक एवं इन्जिनियर तथा हाउजिङ व्यवसायी हुन् ।
कांग्रेस नेता पाण्डे पनि विभिन्न व्यवसायमा संलग्न छन् । चारजना मिलेर युवतीलाई पोखरा लगे पनि उनले दुईजनाविरुद्ध मात्र जाहेरी दिएकी छन् । राउतमार्फत चिनेर आफू पोखरा गएको युवतीको बयानमा उल्लेख छ ।
आरोपी राउत र पीडित युवतीबीच ७–८ महिना अघि टिकटक लाइभमार्फत चिनजान भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । इटहरी घर भएकी ती युवतीलाई करिब दुई साताअघि काठमाडौं बोलाइएको थियो ।
राउत र पाण्डेले आफूहरु चितवनमा रहेको भन्दै उतै बोलाएका थिए । चितवनबाट युवतीसहित ५ जना असार २२ गते पोखरा पुगेको बताइएको छ ।
पोखरामा एक रात बस्ने क्रममा आफूमाथि सामूहिक बला त्कार भएको ती युवतीको दाबी छ । चितवनबाट चार जना गए पनि आफूलाई राउत र पाण्डेले मात्र यस्तो गरेको युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।
काठमाडौं फर्कने क्रममा आफूलाई अन्य दुई जनाले दुर्व्यवहार पनि गरेको युवतीले जाहेरीमा उल्लेख गरेकी छन् । काठमाडौंमा फर्किएपछि आरोपीहरुले बुक गरेको होटलमा बसेकी ती युवतीले भोलिपल्ट आफू पोखरामा बला त्कार मा परेको भन्दै जाहेरी दिएको बुझिएको छ ।