काठमाडौँ।
काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बिवाह गर्ने भएकी छन् । पारिवारिका स्रोतका अनुसार वीरगञ्ज पुख्र्यौली घर भएका साउण्ड इञ्जिनियरसँग सुनिताको बिवाह हुन लागेको हो ।
उनी तीन चार वर्षदेखि सशांक श्रेष्ठसँग अफ यएरमा छिन् । सिनेमा र फोटोग्राफीमा रुचि राख्ने श्रेष्ठले भर्खर स्नातकोत्तर सकाएका छन् । आगामी मंसिरमा विवाह गर्ने गरी सुनिता र सशांकका परिवारले सबै तयारी अघि बढाएका छन ।
नेपाल वायुसेवा निगमकी पूर्वकर्मचारी रश्मी श्रेष्ठ सुनिताकी हुनेवाला सासू हुन् । गौरी प्रधान नेतृत्वको बाल मजदुर सरोकार केन्द्र (सिविन) मा कार्यरत वीरगञ्जका सुवोध श्रेष्ठ उनका भावी ससुरा हुन् ।
हुनेवाला सासू रश्मी निगमको कमर्सियल विभागमा काम गर्थिन् । बेहुला श्रेष्ठको परिवारको बसाइ नयाँ बसपार्क क्षेत्र गोंगबूमा हो । उनीहरूको पुख्र्यौली घर वीरगञ्ज र अर्को घर कीर्तिपुरमा पनि रहेको बताइन्छ ।
सन् २०११ मा मिस नेवा भइसकेकी सुनिता डंगोल काठमाडौंकी मेयर हुनुभन्दा पहिले सामाजिक सञ्जालमा नेपाल भाषाको कक्षा सञ्चालन गर्थिन् ।
रेडियो र टिभी शो चलाएकी उनले कोभिड १९ को महामारीमा कल्लीजात्रा नाम दिएर नेपाल भाषाको कक्षा चलाइन् । उनले नेपाल भाषा कक्षाको शिक्षिकाको रुपमा आफूलाई उभ्याइन् ।
सुनिता लिपी क्वीनको उपनामले पनि चिनिन्छिन् । नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रम चलाउने उनी क्याली जात्रामार्फत विश्वभर भर्चुअल रुपमा लिपी सिकाउँदै त्यसको सम्वर्द्धन गर्दै आएकी थिइन् ।