काठमाडौं ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।
सुनको मूल्य तोलामै एक हजार रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा १० रुपयाँले घटेको महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तेलामा ११ सय ५५ रुपैयाँ तोकिएको छ ।
बुधबार छापावाल सुन प्रतितोला ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ थियो । यस्तै बुधबार चाँदी प्रतितोल ११ सय ६५ रुपैयाँ खरिद बिक्री भएको थियो ।
नेपालमा सुनचाँदी व्यवसायी संघले सुनको मूल्य निर्धारण गर्छ । र, सोही अनुसार बजारमा कारोबार हुन्छ । सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपालमा सुनको मूल्य निर्धारणका लागि पहिले न्यूयोर्क एक्चेञ्ज अर्थात अन्तर्राष्ट्रिय बजारको कारोबार दरलाई आधार लिइन्छ ।
उनका अनुसार मूल्य निर्धारण गर्नुअघि नेपालको समयअनुसार बिहान १० बजे संघमा न्युयोर्क मार्केटको बजार मूल्य आइसकेको हुन्छ । साथै भारत र दुबईको मूल्य प्रवृत्तिलाई पनि आधार मानेर मूल्य निर्धारण गर्दछ ।
त्यसैगरी, नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अर्थात् डलरको मूल्यको आधारमा निर्धारण हुन्छ । सुनको मुख्य मूल्य आधार भनेको नै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य र राष्ट्र बैंकको विनिमय दर रहेको शाक्यले बताए ।
यसका साथै अन्य खर्चमा भन्सार, ह्यान्डलिङ शुल्क र मुनाफा जोडिन्छ । जसमा मुनाफा ०.५ प्रतिशत आयातकर्ता बैंकले र ०।५ प्रतिशत सुनचाँदी व्यवसायीले राख्ने गरेको शाक्यको भनाइ छ । यसरी कायम हुन आएको सुनको मूल्य नै सो दिनको कारोबारका लागि निर्धारण गरिन्छ ।