काठमाडौं ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट अबको एक साताभित्र प्रकाशित गर्ने तयारी भएको छ ।
अबको एक साताभित्र एसईईको नजिता प्रकाशन गरिने तयारी भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन् । हामीले असार अन्तिम साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको तर चुनावका कारण केही ढिला भएको उनले बताएका छन् ।
अब एक साताभित्र परीक्षाफल प्रकाशित हुने भन्दै उनले ‘परीक्षाफल प्रकाशनका लागि आवश्यक तयारीहरू भइरहेको बताए । वैशाखमा एसईई परीक्षा लिइएको थियो। एसईईमा पाँच लाख १४ हजार नौ सय ६७ विद्यार्थी सहभागी थिए।
कोभिड महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट गरिएको माध्यमिक शिक्षा परीक्षा एसईई यसपटक भने भौतिक उपस्थितिमै भएको हो । उक्त परीक्षामा सहभागी हुनेमा छात्रहरूको तुलनामा छात्राहरू बढी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
पछिल्ला वर्षहरूमा छात्राहरूको सङ्ख्या क्रमश: बढ्दै जानुमा कतिपय सामाजिक कारणहरूले भूमिका खेलेको शिक्षाविद्हरूले बताएका छन्। उनीहरूका भनाइमा बढ्दो जनचेतनाले पनि छात्राको सङ्ख्यामा बढोत्तरी भएको हो।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयका कामु परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीकन अनुसार यो वर्ष दुई लाख ५७ हजार नौ सय २४ छात्रा रहेका छन् भने दुई लाख ५७ हजार ५३ जना छात्र छन्। यस पटक परीक्षामा छात्रभन्दा ८७१ जना बढी छात्रा रहेको उनले बताए।
रायमाझीका भनाइमा पछिल्ला वर्षहरूमा एसईईमा सामेल हुने छात्राहरूको सङ्ख्या बढिरहेको देखिन्छ। “छोरीलाई स्कूल नपठाउने” पुरानो मान्यतामा परिवर्तन आएकाले छात्राको सङ्ख्या बढेको उनको बुझाइ छ।
यस्तै एसईईमा मात्र नभई त्यस माथिका उच्च शिक्षाका कक्षाहरूमा पनि अहिले छात्राहरूको सङ्ख्या बढिरहेको शिक्षाविद्हरू बताउँछन्। त्यसको एउटा मुख्य कारण “पुरुषले कमाएर पाल्नुपर्छ” भन्ने चिन्तनका कारण सानै उमेरमा कैयौँ किशोर तथा युवाहरू रोजगारीको खोजीमा पढाइ छाडेर हिँड्नु रहेको शिक्षाविद् विद्यानाथ कोइरालाले बताए। उनका भनाइमा केटाहरूले सानैमा त्यसरी पढाइ छाड्दा स्कूल र कलेजमा केटीको सङ्ख्या बढेको हो ।