काठमाडौं ।
देशभर कोरोना संक्रमणदर बढ्दो क्रममा रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण जोखिम कायम नै छ।
बुधबार काठमाडौं उपत्यकामा मात्रै २१६ जना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १८५, ललितपुरमा २२ र भक्तपुरमा ९ जनामा संक्रमण देखिएको छ।
काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १२७० पुगेको छ। पछिल्लो २४ घन्टामा परीक्षण भएका ३९८१ नमुनामध्ये ३९१ नमुना रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २५६२ नमूनाको पीसीआर र १४१९ नमुनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ३४० र एन्टिजेनबाट ५१ जना गरी कूल ३९१ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै कोरोनाभाइरस सङ्क्रमणदर बढ्न थालेपछि मङ्गलवारदेखि काठमाण्डू उपत्यकामा बूस्टर डोज खोप वितरण सुरु गरिएको छ।
सङ्क्रमणको जोखिम बढे पनि अहिलेसम्म दुई मात्रा खोप लगाएका मानिसमध्ये २३ प्रतिशत मानिसले मात्र अतिरिक्त मात्रा खोप लगाएकाले पुनः तेस्रो मात्रा दिन थालिएको अधिकारीहरूले बताएका छन्।
खोपको आवश्यक मात्रा अन्य जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पनि उपलब्ध गराएका र खोप पुगेका ठाउँहरूमा अनुकूलता हेरेर वितरण गरिने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर दाहालले बताए।
“सरकारले तेस्रो मात्रा खोप दिने अभियान चलाउँदा चलाउँदै पनि मानिसहरूले चासो नदिए जस्तो देखिन्छ। केही स्थानीय तहमा यसबारे सन्देश राम्रोसँग भएन कि जस्तो लागेको छ,” उनले भने।
“अबको चरणमा दुई मात्रा लगाएका सबैले तेस्रो मात्रा लगाउनेगरी अभियान सञ्चालन हुन्छ।” अहिलेसम्म देशका १२ वर्ष उमेर समूहमाथिका कुल जनसङ्ख्यामध्ये ८७ प्रतिशतले दुवै मात्रा खोप लगाएको उनको भनाइ छ। तीमध्ये २३ देखि २४ प्रतिशत मानिसले तेस्रो मात्रा खोप लिएको दाहालले बताए।