काठमाडौं ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुले चुनावपछि संयुक्त सरकार बनाउने बताइरहेका छन् ।
तर भावी सरकारको नेतृत्वबारे प्रचण्डको पछिल्लो अभिव्यक्तिले चर्चा बढाइदिएको पाइन्छ। उनले आलोपालोबारे एउटा विन्दुमा पक्कै छलफल हुन्छ भन्ने विश्वास व्यक्त गर्दै नेतृत्वमा साझेदारी खोज्ने सङ्केत दिएका छन्।
आलोपालोको सम्भावनाबारे जिज्ञासा राख्दा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पार्टीमा छलफल नभएको प्रतिक्रिया दिएकी छिन् ।
उनले भनिन्, ‘चुनावपछि पनि कांग्रेस पहिलो पार्टी रहँदा प्रधानमन्त्री कांग्रेसबाटै बन्ने हो। भोलिका दिनमा आलोपालो पनि हुनसक्छ।’ यस्तै प्रचण्डको भारत भ्रमणका क्रममा प्रधानमन्त्री पत्नी आरजु देउवा निकै चर्चामा आइन्।
दिल्लीमा प्रचण्डसँग भेटको अवसर जुरेको सन्दर्भलाई लिएर आरजु देउवालाई भावी प्रधानमन्त्री बनाउने तयारी भइरहेको खबरहरू बाहिर आए। नेत्री सङ्ग्रौलाले पनि प्रधानमन्त्रीमा आरजु देउवाको नाम आउनु स्वाभाविक रहेको प्रतिक्रिया दिएकी छिन् ।
उनले भनिन्, ‘नेपाली कांग्रेसमा प्रधानमन्त्री बन्न सबै सक्षम नै हो। सबै सक्षम छन्। अहिले गगन थापाको कुरा आएको छ। आरजु देउवाको पनि आउनु स्वाभाविकै हो, राम्रै कुरा हो।’
चुनाव जितेर आएपछि संसदीय दलको नेता भएपछि मात्रै प्रधानमन्त्रीको दाबेदार हुन पाइने भन्दै उनले त्यो प्रक्रियामा जो पनि हुनसक्ने बताएकी छिन् ।
उनले भनिन्, ‘म यो वा त्यो व्यक्ति भन्दिन। नेपाली कांग्रेस प्रथम पार्टी भएपछि कांग्रेसबाटै प्रधानमन्त्री बन्नेछन् भन्ने मेरो विश्वास छ।’
नेपाली कांग्रेसमा आरजु देउवा प्रधानमन्त्रीको बलियो दाबेदारको रुपमा रहेको भन्दै उनले तर आफूले एउटा व्यक्तिबारे कुरा नगर्ने र पार्टीमा धेरै महिलाहरु सक्षम नै रहेका बताइन् । कांग्रेस नेताहरूका अनुसार सभापति देउवाले त्यसबारे कुनै सङ्केत दिएका छैनन्।
बैठकमा देउवाले आफैँ प्रधानमन्त्री बन्ने अडान पनि नराखेको उल्लेख गर्दै सहमहामन्त्री उपाध्यायले भनिन्, ‘कांग्रेसलाई बलियो बनाऔँ, भोलि प्रधानमन्त्री जो बने पनि बनौँला। तपाईहरू पनि बन्नुस् भन्नुभएको छ।’