स्याङ्जा ।
नेकपा एमाले स्याङ्जाले गल्याङ नगरपालिकाका निवर्तमान प्रमुख भूपराज अधिकारीलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।
स्थानीय तह निर्वाचनमा पार्टीलाई अन्तर्घात गरी आफ्ना उम्मेदवारलाई पराजित गरेको आरोपमा अधिकारीलाई कार्वाही गरिएको हो ।
नेकपा एमाले अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) का अनुसार २ पटकसम्म सोधिएको स्पष्टीकरणको जवाफ नदिएकाले अधिकारीलाई पार्टीका जिम्मेवारीबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय भएको छ ।
गत असार २० गते ३ दिनभित्र र असार २८ गते २ दिनभित्र स्पष्टीकरण दिनका लागि समय तोकेको थियो ।
अधिकारीमाथि विभिन्न ९ वटा मुख्य बुँदामा केन्द्रित रही स्पष्टीकरण सोधिएको छ ।
निर्वाचनका बेला निर्णायक भूमिका नखेलेको, चुनावी अभियानका क्रममा सहभागी नभएको, बिरोधीसँग साँठगाँठ गरेको र आफ्ना उम्मेदवारलाई हराउन लागेको, विपक्षी दलसँग रकम लिएको, आफ्ना पार्टीका उम्मेदवार हराउने अभियानमा जुटेको उनीमाथि आरोप छ ।
यस्तै कार्यकर्ता भड्काएको, केन्द्रीय अध्यक्ष केपी ओली र जिल्लाका नेता एवं केन्द्रीय सचिव पदमा अर्याललाई अमर्यादित शब्द र गालीगलौच गरेको लगायतका विविध आरोप उनीमाथि लागेको छ ।
निर्वाचनमा नगरप्रमुख र उपप्रमुखलाई हराउनुपर्ने कारणका बारेमा स्पष्टीकरण सोध्दासमेत अधिकारीले लिखित वा मौखिक कुनै किसिमको पनि प्रतिक्रिया नजनाएकाले कारबाही गरिएको अध्यक्ष गैह्रेले बताएका छन् ।
जिल्ला अध्यक्षसमेत रहेका गैह्रेलाई नगरप्रमुखको उम्मेदवार हुने टिकट पाएपछि निवर्तमान प्रमुख अधिकारी असन्तुष्ट थिए ।
अधिकारी सोही कारण हराउन लागेको अभियोग लागेको थियो । एमाले तर्फबाट उम्मेदवार गैह्रे नेपाली काँग्रेसका गुरुप्रसाद भट्टराईसँग पराजित भएका थिए ।