काठमाडौं । नेकपा एमालेले उपसभामुखमा विद्या भट्टराईलाई अगाडि सारेको छ ।
भोलि उपसभामुखको निर्वाचन हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।
एमाले संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङले एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई भएको जानकारी दिए ।
कास्की २ बाट प्रतिनिधिसभा सदस्य पदमा उपनिर्वाचनमार्फत निर्वाचित भट्टराई तत्कालीन दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका जीवन संगिनी हुन् ।
अधिकारी तत्कालीन एमालेको भातृ संगठन अनेरास्ववियुको महासचिव हुँदा उनी सचिव थिइन् । रवीन्द्रको राजनीतिक राजमार्ग फराकिलो बनाउन जीवन संगिनी भट्टराई दुई दशकअघि नै सक्रिय राजनीतिबाट टाढिएकी भए पनि अधिकारीको अवसानसँगै उनले लगातार ३ पटक जितेको कास्की २ का जनताले उनकै सट्टा जनप्रतिनिधिको रुपमा संसद प्रवेश गराएका थिए ।
भट्टराई ०४९ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुबाट पद्मकन्याको स्वविययु सभापतिकी प्रत्यासी थिइन् ।
०५५ सालमा बिहे भएपछि रवीन्द्रलाई सजिलो होस् भनेर विद्या राजनीतिबाट क्रमशः निष्कृय भइन् । अनेरास्ववियुको केन्द्रीय सचिवबाट बिदा भएपछि विद्याले घर व्यवहार धान्दै दुई छोरा विराज र स्वराजलाई हुर्काउने र आफ्नो प्राज्ञिक योग्यता बढाउनेमा ध्यान दिइन् ।
समाजशास्त्रमा एमफिल उनी कास्की २ को निर्वाचनमा होमिने निश्चित हुनुअघिसम्म रत्नराज्य लक्ष्मी क्याम्पसमा प्रध्यापनरत थिइन् ।