काठमाडौँ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदका लागि यही असार ३१ गतेका लागि चुनावको मिति तोकेका छन् ।
जारी प्रतिनिधिसभाको बैठकमा उनले उपसभामुख पदको निर्वाचन असार ३१ गते हुने भन्दै सोहीअनुसारको सूचना निकाल्न संसद सचिवालयलाई निर्देशन दिए।
२०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा गरेपछि रिक्त पदमा अब नयाँ उपसभामुख चयन हुने भएको छ।राष्ट्रियसभाको उपाध्यक्ष पद पनि रिक्त छ। सांसद्हरुले उपसभामुख र उपाध्यक्ष चयन हुन नसकेको भन्दै आवाज उठाउँदै आएका छन् ।
यस्तै नेपाली कांग्रेकी नेतृ चित्रलेखा यादवलाई उपसभामुख बनाउने चर्चा सुरु भएको छ । सभामुख र उपसभामुख दुईवटा फरक दलको र फरक लिङ्गको हुनुपर्ने प्रावधान छ । त्यसै अनुरुप यादवलाई उपसभामुखको उम्मेदवार बनाउनेबारे छलफल भएको नेपाली कांग्रेसका एक नेताले बताए ।
सभामुख र उपसभामुखमा एउटै पार्टीबाट उम्मेदवारी दिन नमिल्ने संवैधानिक प्रावधान अनुसार काँग्रेसले उपसभामुखमा उम्मेदवारी दिने भएको हो ।
यद्यपि संसदीय दलले ठोस निर्णय भने लिई नसकेको एक नेताले बताए । चित्रलेखा यादवलाई उपसभामुखका रूपमा काँग्रेसले उम्मेदवार बनाउने तयारी अघिल्लो वर्षदेखि नै गरेको हो ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश २ बाट महिलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित चित्रलेखा यादव प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
संसद् बैठक सुरु गर्ने पहिलो महिला हुन् चित्रलेखा यादव । निरंकुश राजतन्त्रविरुद्ध सडकमा बसेको संसद्को मात्र होइन, आन्दोलनपछि पुनर्स्थापित ऐतिहासिक प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता पनि तत्कालीन उपसभामुख यादवले गरेकी थिइन् ।
११ वैशाख ०६३ मा राजतन्त्रले घुँडा टेकेसँगै प्रतिनिधिसभा पुनर्स्थापना भएको थियो । आन्दोलनका वेला राजालाई साथ दिएका तत्कालीन सभामुख तारानाथ रानाभाटले १३ वैशाखमा राजीनामा दिए, त्यही दिन सुरु भएको संसद्को अध्यक्षता उपसभामुख यादवले गरेको थिइन् ।