काठमाडौं ।
बाजुराको बुढिगंगा नगरपालिकामा अहिले मतगणना चलिरहेको छ । अहिले वडा नम्बर ७ को मत गणना चलिरहेको निर्वाचन आयोगले जनाएको छ ।
वडा नम्बर ६ को २ सय मत गनेर सकिएको छ । जसमध्ये उपमेयर र वडा अध्यक्षमा यो वडामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
मेयर पदमा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै राख्दा उपमेयर र वडा अध्यक्षमा भने नेपाली कांग्रेसका उम्मेदवार अगाडि आएका हुन् ।
प्रमुखमा एमालेले ९४ मत पाउँदा कांग्रेसले ८४ मत पाएको छ । उपप्रमुखमा एमालेले ८३ मत पाउँदा कांग्रेसले ८५ मत पाएको छ । त्यस्तै वडाध्यक्षमा एमालेले ८० मत पाउँदा कांग्रेसले ८७ मत पाएका छन् ।
अहिले सम्म १, २, ३, ८, ९ र १० वडाको परिणाम आइसकेको छ । छ वडामा एमालेले पाँच र कांग्रेसले एक वडा जितेको छ । प्रमुख र उपप्रमुखमा पनि करिब १५ सय बढिले एमालेले अग्रता बनाइरहेको छ ।
यहाँ एमालेबाट प्रमुखमा रामबहादुर बानियाँ र उपप्रमुखमा मायाकुमारी खड्का, नेपाली काङ्ग्रेसबाट प्रमुखमा रंगबहादुर खाती, उपप्रमुखमा रिता शाही चुनावी मैदानमा छन् ।