Latest News

अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन किन पुगे झलनाथ निवास ?

Nepalese Times July 9, 2022 (2 Year ago)    536 Views

काठमाडौं ।

माओवादी केन्द्रका नेता जनार्दन शर्मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटका लागि खनाल निवास डल्लु पुगेका छन् । वर्तमान सत्तारुढ गठबन्धनको विकल्पमा वाम गठबन्धन बनाउनुपर्ने चर्चा बढिरहेका बेला जनार्दन र खनालबीच महत्वपूर्ण भेट भएको हो ।

झलनाथ खनालले वामपन्थी गठबन्धन हुनुपर्ने बताउँदै आएका छन् भने जनार्दन २०७४ मा यस्तो गठबन्धन बनाउन सक्रिय रहेका माओवादी केन्द्रका नेता हुन् । त्यतिबेला महत्वपूर्ण भूमिका खेलेका जनार्दनको यो सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उत्तरी छिमेकी चीनका उच्च अधिकारीको काठमाडौं भ्रमणको पूर्व सन्ध्यामा यो भेट भएको छ । नेपालमा वामपन्थी गठबन्धन बलियो भएको हेर्न चाहने चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ आइतबार काठमाडौं आउँदैछन् । सो जिम्मेवारीमा आएपछि उनको विदेश भ्रमण नेपालबाट सुरु हुँदैछ ।

उनको भ्रमणले चीनले नेपाललाई उच्च प्राथमिकतामा राखेको देखिन्छ । उनले यसअघि पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै वार्ता गरेका थिए ।

उता, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेसँगको एकताको च्याप्टर नखुलेको बताएका छन्। एमालेसँग एकताको च्याप्टर बन्द भएको हो? भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले एमालेसँग एकताको च्याप्टर नखुलेको अवस्थामा बन्द भन्ने प्रश्न नै उठाउन नपर्ने बताए।

´जब एमालेसँग एकताको च्याप्टर खुलेकै छैन भने बन्द कसरी भयो भन्ने? बरू पार्टीमा हामीले जसरी जुन कारणले विद्रोह गरेका थियौं त्यसको औचित्य पुष्टि भएको छ’, बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेपालले भने।

नेता नेपालले राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु नहुने भएकोले संविधानको रक्षा र प्रतिगमनविरूद्ध पाँच दलीय गठबन्धन गरिएको स्मरण गरे।

नेता नेपालले अहिलेको मुख्य शत्रु नोकरशाही पुँजीवाद भएकोले त्यसविरूद्ध एक हुनुपर्ने बताए। नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गरेर प्रचण्ड अध्यक्ष र माधव नेपाल प्रधानमन्त्री बनाउने भन्ने समाचारमा सत्यता नभएको बताए।

कम्युनिष्ट पार्टीले नै राष्ट्रको निकास दिन सक्छ भनेर कम्युनिष्ट पार्टीहरूमा एकताको सम्भावनाबारे छलफल गरिरहेको भए पनि आफूले पद र प्रतिष्ठाको लागिमात्र पार्टी एकता नगर्ने दाबी गरे।

‘माधव नेपाललाई प्रधानमन्त्री चाहिएर पार्टी एकीकरण गर्न पर्दैन, म पदको पछाडि लाग्ने, पदका लागि हिरिक-हिरिक हुने मान्छे होइन’, उनले भने। नेपालले पछिल्लो समय तत्कालीन नेकपालाई व्युँताउन सकिन्छ कि भनेर छलफल भने भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस