काठमाडौं ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले प्रदेश १ को नाम ‘कांग्रेस–एमाले प्रदेश’ राख्न सुझाव दिएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)सँगको अन्तर संवादका क्रममा माखिमले पहिचानको आधारमा प्रदेशको नाम राख्न नचाहने नेपाली कांग्रेस र नेकपा एमालेले आफ्नै पार्टीको नामबाट प्रदेशलाई नामाकरण गर्न सुझाव दिएका हुन् ।
प्रदेश १ को सन्दर्भमा पहिचानमा आधारित नामाकरणका लागि अन्य दल सकारात्मक रहेता पनि कांग्रेस र एमालेले नचाहेको भन्दै प्रदेशको नाम नै ‘कांग्रेस–एमाले प्रदेश’ राख्न भनेका हुन् ।
नेता माखिमले भने– ‘हामीले भन्दै आएका छौं । प्रदेश १ को भूराजनीतिक अस्थिति फरक छ । त्यहाँका जनताको चाहना पहिचान हो । पहिचान प्राप्तिका लागि लामो समदेखि आन्दोलन चलिरहेको छ । त्यो आन्दोलनको मर्मविरीत प्रदेशको नामाकरण नहोस भन्ने चाहन्छौं । तर, कांग्रेस–एमालेहरु त्यो मान्न तयार छैनन् । त्यसैले भन्दै छु, प्रदेशको नाम कांग्रेस–एमालेले आफ्नै पार्टीको नामबाट राखनु । त्यसपछि हेरौंला ।’
माखिमले अन्य प्रदेशको नामाकरण जस्तो प्रदेश १ लाई सजिलो नठान्न समेत दलहरुलाई चेतावनी दिएका छन् । उनले भने– ‘लिम्बूवान किरात आन्दोलन त्यसै भएको होइन । लिम्बूवान आन्दोलनको जग सामान्य छैन ।’
उनले थपे, ‘अहिले सुस्ताएको जस्तो देखिएला तर पहिचानभन्दा बाहिर गएर प्रदेशको नाम राखेको दिनदेखि लिम्बूवानमा आन्दोलनले अर्को स्वरुप ग्रहण गर्नेछ । त्यसले देशलाई अर्को द्वन्द्वको अवस्था पुर्याउने छ ।’