काठमडौं ।
पूर्वमन्त्री कृपाशुर शेर्पासहित एमाले नेता चढेको गाडी सिन्धुलीमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जसमध्ये ३ को अवस्था गम्भीर रहेको छ ।
काठमाडौंबाट प्रदेश १ को सुनसरीका लागि छुटेको बा २ च ९००३ नम्बरको ल्यान्ड क्रुजर मदन भण्डारी राजमार्ग खण्डमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर १४ चन्दनपुरमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।
गाडी दुर्घटनामा घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत काठमाडौंको ट्रमा सेन्टर पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनामा एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, पूर्वमन्त्री शेर्पा, पेम्बा गुरुङ, देवराज राई, गणेश थापा घाइते भएका छन् ।
घाइतेमध्ये पेम्बा गुरुङ, देवराज राई र गणेश थापाको अवस्था गम्भीर रहेको सिन्धुली प्रहरीका एसपी विमलराज कँडेलले जानकारी दिए ।
उनीहरु नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर एकको विस्तारित बैठकमा जाने क्रममा दुर्घटना भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने ३१ जना घाइते भएका छन् ।
आज खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने ३१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।
चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्कीको ज्यान गएको प्रहरी निरीक्षक खनालले बताए ।