काठमाडौं ।
नेकपा एमालेका नेताहरु चढेको गाडी दुर्घटनामा परेको छ ।
एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर एकको बिस्तारित बैठकमा भाग लिन जाने क्रममा सिन्धुलीको भिमानमा एमाले नेताहरु दुर्घटनामा परेका हुन् ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल घर्ती, पूर्वमन्त्री तथा एमाले नेता कृपाशुर शेर्पा, पेम्बा गुरुङ, देबराज राई लगायत नेताहरु घाइते भएका छन् ।
घाइते नेताहरुको प्राथमिक उपचारपछि हेलीकोप्टरमा काठमाडौं पठाउने तयारी भइरहेको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको चिकित्सकले जनाएका छन ।
यस्तै सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने ३१ जना घाइते भएका छन् ।
आज खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने ३१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।
चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्कीको ज्यान गएको प्रहरी निरीक्षक खनालले बताए ।
घाइतेको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धारमा प्रहरी निरीक्षक सरोज खनालको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्र्याक्टरमा ४४ जना सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीले सवारी चालक चैनपुर नगरपालिका–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ । घाइतेको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।