काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले गद्दी त्याग्ने बेला वाचन गरेको घोषणाको ड्राफ्ट आफूले गरेको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
२०६३ साल वैशाख ११ गते ज्ञानेन्द्रले वाचन गरेको घोषणा सर्वदलीय स्वीकृतिमा पार्टी कार्यालय बल्खुको चौरमा बसेर आफूले ड्राफ्ट गरेको उनले बताए ।
ओलीले भने, ‘त्यसमा संसद पुर्नस्थापना गरेको छु, जनताको नासो जनतालाई सुम्पिएको छु भन्नेभन्दा केही थिएन।’
यस्तै उनले माओवादीले हतियार उठाउँदा संवैधानिक रुपमा चल्न पाउने व्यवस्था रहेको बताए । उनले भने, ‘उनीहरुको माग के थियो भने गोलमेच सम्मेलन, सर्वपक्षीय सर्वदलीय सरकार र संविधानसभा, यति कुराका लागि हतियार उठाउनुपर्छ ? यसको औचित्य के थियो ? मैले धेरैपटक प्रश्न सोधेँ प्रचण्डले भनेका छैनन्।’
प्रचण्डले आजको कुरा सुनेर भोलि पर्सि जवाफ दिए हुन्छ भन्दै ओलीले थपे, ‘त्यसका लागि १७ हजार मान्छे मार्नुपर्छरु’
माओवादीले भनेको जनयुद्धको उद्देश्य छोटो बाटोबाट सत्तामा पु्ग्ने, देशमा अस्थिरता सिर्जना गर्ने रहेको उनको भनाइ छ।
महान जनयुद्ध उनीहरुले के पाएर छाडे ? बहुदलीय व्यवस्था र विघटित संसदको पुनर्स्थापनाको लागि १७ हजार मान्छे मारेको हो ? ओलीले भने‚ ‘राजतन्त्रसँग कार्यगत एकता थियो भन्ने त हामीले सुनेकै हो।’