बैतडी
बैतडीको पाटनमा यही असार दोस्रो हप्ता भिरालो जङ्गलमा रुखको जरामा बाँधेर राखिएको गाईको स्थानीय युवाले उद्धार गरे । जिल्ला समन्वय समितिका सदस्य करन कडायतले भीरमा गाई बाँधेको देखेपछि उद्धारको पहल भएको थियो ।
उद्धारकर्ता लवदेव जोशीले उक्त दृश्यको वर्णन गर्दै भने, “बूढो गाई हत्केलाजस्तो भीरमा उभिएको थियो । गाईको आँखामा आँसु र कचेरा भरिएका थिए । खुट्टा कापिरहेका थिए । त्यो गाईको उद्धार गर्दा हाम्रा पनि आँखा रसाए ।” भीरमा बूढो गाई लगेर राति कसैले बाँधेको हुनसक्ने जिल्ला समन्वय समिति बैतडीका सदस्य कडायतले बताए ।
दुहुनो हुन्जेल स्याहार गर्ने तर बूढो भएपछि यसरी अत्याचार गर्दै भीरमा बाँधेर छाडेको घटना सेलाउन नपाउँदै पाटन नगरपालिका क्षेत्रका सडकमा बुधबार फेरि अर्को घटना भएको छ । गाई र बाच्छीको घाँटीमा कार्टोनमा ब्यानर बनाएर “हाम्रो गोबर व्यवस्थापन गर ! पाटन नगरपालिका मुर्दावाद !” लेखेर छाडिएको छ ।
यसरी स्वार्थपूर्तिका लागि पशुलाई पशुवत् पनि व्यवहार नगर्ने प्रवृत्ति बैतडीमा बढ्दो छ । केही बजारीले नगरपालिकाको विरोध गर्दै कागजमा विरोधका नारा लेखेर गाईको घाँटीमा झुन्ड्याएको पाइएको पाटन नगरपालिकाका नगरप्रमुख गौरीसिंह रावलले बताए । नारा लेखेर गाईको घाँटीमा झुन्ड्याउनेको खोजी भइरहेको उनले बताए ।
पशुको पनि अधिकार भएकाले यस्ता दृश्यले मन पोलेको स्थानीय युवा लवदेव जोशी बताउँछन् । “गाई हाम्रो राष्ट्रिय जनावर मात्रै होइन, दूध दिने बेलासम्म आमाजस्तै राम्रोसँग हेरचाह गर्छौं तर बूढो भएपछि गाईमाथि यस्तो अत्याचार भइरहेको छ,” जोशीले भने ।
बूढो भएका गाई भीरमा मात्र होइन बजारमा पनि छाडिन्छन् । तिनका साथै बाच्छाबाच्छी पनि हुन्छन् । यसका अतिरिक्त केही पुरोहितले दानमा पाएका बाच्छी गाउँबाट ल्याएर बजारमा छोड्ने गरेको स्थानीय केशव खत्रीले बताए । “कन्यादान, वार्षिक पुण्यतिथि र श्राद्ध गर्दा बाच्छी दान दिने चलन छ,” खत्रीले भने, “पुरोहितले त्यस्ता बाच्छी पनि बजारमा ल्याएर छोड्ने गरेका छन् ।”
यो समस्या अहिलेको मात्र होइन । डेढ वर्षअघि पाटन नगरपालिकाले नै नगरमा छाडा छोडिएका ८० वटा बूढा गाई बैतडीबाट बझाङको सीमा कटाउन लगाएको थियो । नगरपालिकाले प्रतिगाई दुई हजार रुपियाँका दरले पैसा नै दिएर मजदुर खटाएर सीमा कटाउन लगाएको थियो तर मजदुरले ती गाई पुरचौडी नगरपालिकाको जङ्गलमा लगेर छोड्दा ११ गाई मरेको अवस्थामा भेटिएका थिए ।
स्थानीयले त ती गाई भीरबाट खसालिएका थिए । पुरचौडी नगरपालिका–६, भूमिराजको कुवाकोट–सुुइलेक सडक खण्डको सिगास सामुदायिक वनमा रहेको पानीको मुहानमा मरेका गाई फालिएको अवस्थामा भेटिएपछि स्थानीयले विरोध गरेका थिए । प्रहरीले एक जना मजदुरलाई पक्राउ गरेर मुद्दा पनि चलायो । जनप्रतिनिधिलाई प्रहरीले छलफलमा बोलाएर सचेत गराएको थियो ।
कार्यालयको तथ्याङ्कअनुसार बैतडीमा एक लाख १२ हजार गाई छन् । कानुनी हिसाबले गौहत्या र गाईलाई यातना दिएको पाइए दण्ड सजायको व्यवस्था भए पनि छाडा पशुचौपायाको विषयमा कानुन फितलो भएको अधिकारकर्मीहरु बताउँदै आएका छन् । गोरखापत्र दैनिकबाट