काठमाडौं । लुम्बिनीमा रहेको मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट झण्डै २३ लाख रुपैयाँ संकलन भएको छ ।
गत आइतबारदेखि दानपेटिका खोली गणना सुरू गरिएकोमा २२ लाख ९७ हजार रुपैयाँ संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ।
तीन दिनसम्म दैनिक ३० जनाको दरले ९० जनाले दान रकम गणना गरेको विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए।
विगतका समयमा हरेक १५ दिनमा दानपेटिका खोलिने गरेकोमा यसपटक तीन महिनापछि मात्रै दानपेटिका खोलिएको हो।
कोभिड महामारीपछि लुम्बिनीमा विदेशी पर्यटक निकै कम आएकाले यसपटक दानपेटिकामा भेटी रकम कम उठेको कोषाध्यक्ष भट्टराईले बताए। यसअघि चैत १८ गते गणना गर्दा ३७ लाख रकम संकलन भएको थियो।
भेटीबापत उठ्ने रकमबाट करारका कर्मचारीहरूलाई तलब र अन्य व्यवस्थापनको काम गर्दै आएको विकास कोषले जनाएको छ।