काठमाडौं ।
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आयोग पदाधिकारीहरुका अनुसार बुधबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति प्रस्ताव गर्ने तयारी छ । एक आयुक्त भन्छन्, ‘भोलि २ बजेपछि भेट होला ।’
त्यसको अघिल्लो दिन मंगलबार आयुक्तहरुबीच सम्भावित मितिबारे छलफल भएको थियो । त्यस क्रममा कात्तिक ३० सँगै मंसिर २ को मिति आएको आयोग स्रोत बताउँछ ।
आयोगको सिफारिसका आधारमा १२० दिन समय राखेर मन्त्रिपरिषद्ले केही साताभित्र निर्वाचन मिति घोषणा गर्ने स्रोतले जनाएको छ।
आयोगले एकै चरणमा दुवै तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको छ। यसअघि स्थानीय तह निर्वाचनमा सरकारले सुरक्षा दिन नसकेको भन्दै दुई चरणमा गर्नेबारे आयोगमा छलफल भएको थियो।
तर, एकै चरणमा मंसिर २ मा चुनाव गर्न उपयुक्त हुने निष्कर्षमा आयोग पुगेको छ। हिउँद लागेपछि हिमाली भेगमा चुनाव गर्न गाह्रो हुने भन्दै आयोगले यसअघि कात्तिक ३० भित्रै पहिलो चरण र मंसिर पहिलो साता दोस्रो चरणमा चुनाव गर्न सरकारलाई अनौपचारिक सुझाव दिएको थियो।
यसअघि २०७४ मंसिरमा दुई चरणमा दुवै तहको निर्वाचन भएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले मंसिर १० र २१ गते दुई चरणमा संसदीय निर्वाचन गरेको थियो।
प्रदेशसभाको चुनाव पनि सँगै भएको थियो। यस पटक पनि देउवाकै नेतृत्वमा तीनै तहको निर्वाचन हुने भएको छ।