काठमाडौं । गुल्मीका नौ वर्षका सचिन परियार बोलीमा चञ्चलता र मिठासका कारण चर्चाको केन्द्रमा रहे । यही मिठासका कारण एकताका सामाजिक सञ्जालमा भाइरल भए । केही समय अघिसम्म पनि उनलाई म्युजिक भिडिओदेखि टेलिफिल्ममा लिनेहरुको तँछाडमछाड देखिन्थ्यो।
गुल्मीकै एक युट्युब च्यानलले अन्तर्वार्ता लिएपछि टिकटकमा लोकप्रिय बने सचिन। नाम चलेको कलाकारले सचिनको आवाजमा टिकटक बनाए। सोही अन्तर्वार्ताले सचिनको काठमाडौँ यात्रा तय गर्यो। उनले उस्तै शैलीमा कृष्ण कँडेलको ‘इन्द्रेणी’मा गीत गाए। सचिनलाई ‘ओठ खोलेर’देखि ‘रातो रबर’सम्मका लोकगीत गाउन लगाइयो।
त्यसताका सार्वजनिक भएका गीत तथा म्युजिक भिडिओ सचिनकै कारण युट्युबमा सर्च भए। उनलाई उभ्याएका म्युजिक भिडिओले युट्युब ट्रेन्डिङको अग्रपंक्ति कब्जा गर्यो। उनको लोकप्रियता देखेका नाम चलेका कलाकार पनि उनको को–एक्टर हुन राजी भए। राजेश हमालदेखि मुना मगरसम्मले सचिनसँग स्क्रिन सेयर गरे।
सचिनले हास्य टेलिचलचित्र ‘मेरी बास्सै’का केही भागमा अभिनय गरे। केही समयका लागि सचिन युट्युब ट्रेन्डिङ कब्जा गर्ने गायक तथा मोडल कहलिए। त्यहीताका सचिनलाई प्रयोग गरेर व्यापार गरिएको भन्दा मोडल विमल अधिकारीले आलोचना खेप्नुपर्यो। राम्रो सम्भावना भएको एउटा बालकलाई सिकाउनुको सट्टा उनको अबोधपनको व्यापार गरेको भन्दै असन्तुष्टि जनाएका विमलले झण्डै लोकगीत क्षेत्रबाटै बहिष्कृत हुनु पर्यो।
अहिले सामाजिक सञ्जालमा सचिनको युग सकिएको छ। एकाएक सेलेब्रिटी बनेका सचिनको दैनिकी पनि फेरिएको छ। कुनै दिन स्टुडिओदेखि सुटिङ स्पटसम्म व्यस्त उनी हिजोआज गुल्मीको पुतलीबजारका सडकमा भेटिन्छन्। युट्युबमा उनका कन्टेन्ट जान छाडेपछि सबैतिरबाट लत्याइएका सचिन पुरानै थातथलो फर्किएको महिनौँ भयो।
युट्युबरले रातारात भाइरल बनाएका सचिन शारीरिक रूपमा अस्वस्थ थिए। उनको त्यही शारीरिक हाउभाउको व्यापार गरेका अग्रज कृष्ण कँडेलदेखि पछिल्लो पुस्ताका युट्युबर सबै अहिले मौन छन्। केही महिनाअघि निमोनियाका कारण हप्तौँसम्म थला परेका सचिन अहिले नसासम्बन्धी समस्यासँग जुधिरहेको उनको परिवारले बताएको छ। अहिले सचिनको वजन मात्रै वृद्धि भइरहेको छ, उचाइ बढिरहेको छैन।
कुनै दिन काठमाडौँको नाम चलेको बोर्डिङमा पढ्ने सचिन हिजोआज पुतलीबजारस्थित घरको सटरवाला कोठामा कान्छीआमा, बुबा र भाइबहिनीसँग बस्दै आएका छन्। उनी आफ्नो मर्जीले घरबाहिर निस्किन पनि पाउँदैनन्। बाहिर निस्किँदा युट्युबरले अन्टसन्ट भिडिओ खिचेर सार्वजनिक गरिदिन्छन् भनेर उनको परिवारले प्रतिबन्ध लगाएको हो।
सचिनको पछिल्लो अवस्था सार्वजनिक भएपछि धेरैले उनका बुबालाई गाली गरेका छन्। सचिनको भविष्यमाथि उनका बुबाले खेलवाड गरेको भन्दै गालीगलौज सुरु भएका छन्। सचिनले पढ्ने स्कुलका प्रिन्सिपल नेत्र उपाध्यायले पनि उनकै बुबाको लापर्वाहीका कारण सचिनको पढाइ बिग्रिएको बताए।
१३ वर्षीय सचिनको पछिल्लो अवस्था थाहा पाएपछि गाउँमा उनलाई खोज्दै जाने युट्युबरहरू संख्या बढेको छ। उनले पढ्ने विद्यालयमा गएर सोधिखोजी हुन थालेको छ। सचिनका बुबा चन्दा संकलन भए काठमाडौँ फर्काएर स्कुल भर्ना गरिदिने सोचमा छन्। सचिन अझै पनि आफ्नै परिवारदेखि युट्युबरसमेतको स्वार्थको सिकार बनेका छन्।
यसै क्रममा उनका आमा सरिता परियार पनि मिडियामा आएका छन् । पोखराको एक होटलमा भाँडा माझ्ने काम गरिरहेकी उनले आफ्नो छोराको पैसा माग्दै गरेको भिडियो हेरेर निक्कै दुःखी भएकी छिन् ।
तेजेन्द्र परियारसँग सम्बन्ध राम्रो हुन नसकेपछि भाँडा माझ्न थालेकी उनले सचिनलाई आफैंले राख्न खोजेको तर तेजेन्द्रकै कारण त्यसो सम्भवन भएको भन्दै आँखाबाट आँशु खसालेकी छिन् ।
अहिले छोरा पुरानै अवस्थामा सडकमा हिँडेको देखेर मन भक्कानिएको भन्दै उनले आफूले नै छोराछोरी सँगै राख्न पाएको भए अहिले यो अवस्था नआउने बताएकी छिन् ।
हेर्नुहोस् भिडिओमा