Latest News

तपाईको यो हप्ता कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

Nepalese Times July 4, 2022 (2 Year ago)    396 Views

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्ययनमा सफलता प्राप्त हुनेछ भने नयाँ कार्य थालनी हुन सक्छ। मिहिनेत गरेर नाम, दाम र इनाम हात पार्ने समय छ। व्यावसायिक काममा पनि फाइदा हुनेछ। कर्मयाेगले सफलताकाे उचाइमा पुर्याउनेछ। प्रतिस्पर्धीहरू स्वतः पछि पर्नेछन्। प्रयत्न गर्दा यात्राको अवसर जुट्न सक्छ। व्यापार र उद्योगमा सामान्य फाइदा हुनेछ। सहयोगीहरू जुट्नाले काम बन्नेछन्। नयाँ याेजना थाल्ने अवसर छ। प्रियजनसँग भेटघाट हुनेछ। सप्ताहान्तमा भने केही खर्चिलो काम गर्नुपर्ला। स्वास्थ्यका लागि विशेष सावधान रहनुहोला।

वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रारम्भमा अन्योल बढ्ने हुँदा काम बिग्रने चिन्ताले सताउन सक्छ। नजिकका साथीभाइ टाढिनाले आत्मबलमा कमी आउनेछ। मंगलवारदेखि स्थिति अनुकूल बनाउन सकिनेछ। मिहिनेतले प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। नयाँ कामको अवसरले उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। सप्ताहान्तमा भने प्रतिस्पर्धीहरूले दु:ख दिनेछन्। काम रोकिनाले आयस्राेत कमजाेर बन्न सक्छ। तापनि पहिलेकाे उपलब्धिले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह
सरल जीवनशैलीले धेरैलाई प्रभावित पार्न सकिनेछ। मिहिनेतले आँटेको काम सम्पादन हुनेछ। आर्थिक क्रियाकलापमा फाइदा हुनेछ। मंगलवार र बुधवार पारिवारिक असमझदारी देखिए पनि चिताएको काम सम्पन्न हुनेछ। आफन्तको सहयोगले काम लिने कोसिस गर्नुहोला, आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता हुन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुनेछ। साझेदारीमा अलि सावधान रहनुपर्ला।

कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साता उत्साहवर्द्धक रहनेछ। बोलीको माध्यमले काम सम्पादन हुनेछ। कार्यशैलीमा पनि सुधार ल्याउन सकिनेछ। पहिलेको कर्मफल प्राप्त हुनेछ। आँट गर्दा काम सम्पादन हुनेछ। छाेटाे समयमै विशेष उपलब्धि प्राप्त हुनेछ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। चुनौतीलाई अवसरमा बदल्न सकिनेछ। सप्ताहान्तमा केही उतारचढाव आउलान्। परिस्थितिले समयको महत्त्वबाेध गराउनेछ। घरेलु समस्यामा सावधान रहनुहोला। कुरा लगाउनेहरूले सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्। योजनाहरू गोप्य राख्नुहोला।

सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारिवारिक भेटघाटकाे माहोल रहनेछ। रमाइलाे जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। कामले प्रतिष्ठा दिलाउनेछ। पहिरनको सोखले खर्च बढाउन सक्छ। पछिका लागि सञ्चित रकम खर्चनुपर्ने देखिन्छ। पछिल्ला दिन संघर्षपूर्ण बन्ने हुँदा साताको पूर्वार्द्धमै उपलब्धि हातपार्न क्रियाशील रहनुहाेला। उत्तरार्द्धमा साथ दिनेहरू कमै फेला पर्नेछन्। वादविवादले काममा समस्या निम्त्याउनेछ। अरूको दबाबमा परेर निर्णय लिन बाध्य भइनेछ। विगतका कमजोरी बाहिरिनाले आत्मबल कमजोर हुनेछ।

कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। रकम जोहो गर्न सरसापट लिनुपर्ला। मंगलवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। तर प्रतीक्षा गरिएको नतिजा कमजाेर आउन सक्छ। जटिल कामको जिम्मेवारी प्राप्त हुनेछ। नयाँ काममा हात हाल्न उपयुक्त साइत पर्खनुपर्ला। सप्ताहान्तमा व्यवसाय विस्तार हुनेछ। लेखन र अभिव्यक्ति कलामा निखारता आउनेछ। राेकिएकाे काम सम्पादन हुनेछ। आम्दानी बढ्नेछ र मान–सम्मान पनि प्राप्त हुनेछ।

तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते
पछिसम्म लाभ हुने काम गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। सहयोग र सरसापटमा केही रकम भने बाहिरिन सक्छ। मंगल, बुध र बिहीवार खर्च बढ्नुका साथै अधिक रकम आवश्यक पर्न सक्छ। तापनि पछिका लागि लगानी गर्ने मौका जुट्नेछ। सोखले खर्च निम्त्याए पनि पछिका लागि सामान जोहो गर्ने समय छ। सप्ताहान्तमा भविष्यको मार्गचित्र कोरिनेछ। तारिफयोग्य कामले चाँडै लोकप्रियता दिलाउनेछ। साथीभाइसँग रमाइलो भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ।

वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु
सञ्चित कर्मफल प्राप्त हुनाले नयाँ काम गर्न उत्साहित भइनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। पछिका लागि लगानी गर्नुपरे पनि पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। बीचमा परिस्थिति केही असहज बन्न सक्छ। लाभांशको आधा हिस्सा खर्च गर्नुपर्ला। तापनि प्रयत्न गर्दा परोपकारी काम गर्ने अवसर जुट्नेछ। सप्ताहान्तमा आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वास्थ्यका लागि भने अलि सजग रहनुहोला।

धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
राेकिएका काम बन्नाले धेरै समस्या समाधान हुनेछन्। सामाजिक क्षेत्रबाट हौसला प्राप्त हुनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। प्रतिष्ठित कामकाे जिम्मेवारी हातपार्न सफल भइनेछ। तर बीचमा काम राेकिन सक्छ। कमजाेर नतिजा सच्याउन उही काम दोहोर्याउनुपर्ला। प्रतिफल हातपार्न केही समय प्रतीक्षा गर्नुपर्नेछ। केही लाभांश खर्चनुपरे पनि व्यवसायमा राम्रो आम्दानी हुनेछ। सुरुमा रकम बाहिरिए पनि सप्ताहान्तमा फिर्ता आउनेछ। व्यवसाय विस्तार हुनेछ। आम्दानी बढ्नेछ र मान–सम्मान पनि प्राप्त हुनेछ।

मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ्य कमजाेर रहे पनि कामको दायित्व बोझिलाे हुनेछ। साताभरि संघर्ष र चुनाैतीका शृंखला देखिए पनि बीचमा प्रशस्त फाइदा हुनेछ। सुरुमा अरूको स्वार्थमा उपयोग भइएला। धनमाल हराउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने नयाँ अवसरले पनि उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले समस्या सुल्झाउन सकिनेछ। चुनौती पन्छाएर लक्ष्यमा पुग्न सकिनेछ।

कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भ रमाइलो देखिए पनि खर्चिलाे याेजना प्रारम्भ हुनेछ। प्रियभेट हुनाले मनमा आनन्द मिल्नेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। तर मंगलवारपछि अर्थ अभावले सताउनेछ। अप्ठ्यारा कामको बोझ उठाउनुपर्ला। माैसमी राेग वा चोटपटकको योग देखिएकाले अलि सावधान रहनुहाेला। सप्ताहान्तमा स्थिति अनुकूल बन्नाले काममा जोसजाँगर बढ्नेछ। धार्मिक कर्म र समाजसेवामा प्रवृत्त भइनेछ। थालेको काम बन्नाले आयस्रोत पनि सबल बन्नेछ। अप्ठ्यारो परिस्थिति सुल्झनेछ र विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ।

मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि
साताकाे प्रारम्भ उपलब्धिमूलक रहनेछ। शत्रु परास्त हुनाले नयाँ अवसर प्राप्त हुनेछ। आफन्तकाे साथ–सहयाेग नजुटे पनि जुझारु कार्यशैलीले उपलब्धि हातपार्न सकिनेछ। बिहीवारसम्म व्यापार र उद्योगमा फाइदा हुनेछ। मंगलवारदेखि विवादास्पद जिम्मेवारी आउनेछन्। झूटा आराेप लाग्ने र शुभचिन्तकहरूले साथ नदिने सम्भावना रहनेछ, सतर्क रहनुहाेला। परिस्थितिले खर्च बढाउनेछ भने अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ।सप्ताहान्तमा स्वास्थ्य कमजोर रहनेछ। धनमाल बाहिरिनेछ भने अर्थ अभावले सताउन सक्छ। नेपाली पात्रोबाट

प्रतिक्रिया दिनुहोस