काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीका तीन नेतालाई सहभागी गराएर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।
जसपाबाट मृगेन्द्रकुमार सिंह कृषि, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार र प्रदीप यादव वनमन्त्री नियुक्त भएका हुन् ।
जनता समाजवादी पार्टीले नेताहरु महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर नयाँ नेताहरुलाई मन्त्रिपरिषदमा पठाएको हो ।
यसअघि नै विवादित बनेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको मन्त्री पद भने जोगिएको छ ।
अरु मन्त्रीहरु फिर्ता हुँदा राजेन्द्र श्रेष्ठ मात्रै किन फिर्ता भएनन् रु भन्ने आम चासो रहेको छ । श्रेष्ठले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई अनेक प्रलोभन देखाएर मन्त्री पद जोगाएका जसपाकै एक नेताले नेप्लिज टाइम्सलाई बताएका छन् ।
उनले भने, ‘राजेन्द्र श्रेष्ठ विवादित व्यक्ति हुन् । यसअघि पनि उनले कर्मचारी सरुवामा १५ लाखसम्मको बार्गेनिङ गरेको खुलेको थियो । अहिले पनि अध्यक्ष यादवलाई दबाब र प्रभावमा पारेर श्रेष्ठले मन्त्री पद जोगाएका हुन् ।’
यसअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजी सचिवालयका कर्मचारीमार्फत सरुवाका लागि १५ लाखसम्मको ‘बार्गेनिङ’ गर्न लगाएका थिए ।
विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि उनीहरूले १५ लाखसम्म माग गर्ने गरेको आरोप मन्त्रालयकै कर्मचारीले लगाएका हुन् ।
मन्त्री सचिवालयका ती कर्मचारीले ‘मन्त्रीज्यूको पार्टीलाई चुनावी खर्च आवश्यक पर्ने’ भन्दै सरुवा माग्न आउनेसँग ‘बार्गेनिङ’ गर्ने गरेको स्रोतको दाबी छ ।