काठमाडौं ।
निर्वाचन क्षेत्र विकास कार्यक्रम र प्रदेश मन्त्रालयबाट बजेट दिलाइदिने सांसदसहित ६ जनाले उपहारमा सुनको औंठी लिएका छन् ।
सप्तरीको राजविराजस्थित सामुदायिक संस्था साह सेवा सदनले भवन निर्माणका लागि बजेट दिलाउन भूमिका खेलेको भन्दै दुई प्रदेश सांसदसहित ६ जनालाई महँगो उपहार दिएको हो ।
प्रदेश सांसद मनीषकुमार सुमन र नेत्रविक्रम साहसहित ६ जनाले सुनको औंठी उपहार पाएका हुन् । साह सेवा सदनको धर्मशालाको पहिलो तला उद्घाटनका अवसरमा प्रदेश सांसदद्वय सुमन र साहसहित आयोजक संस्थाका अध्यक्ष दुर्गाप्रसाद साह, संस्थापक अध्यक्ष रामचन्द्र साह, तेली कल्याण समाजका केन्द्रीय अध्यक्ष शैलेन्द्रकुमार साह र पूर्वसांसद जगदीश साहलाई औंठी उपहार दिँदै सम्मान गरिएको हो ।
प्रत्येकलाई साढे ५ आना तौलको औंठी दिइएको हो । साह सेवा सदन राजविराजका अध्यक्ष दुर्गाप्रसाद साहले ६ जनालाई दिइएको सुनको औंठीको मूल्य २ लाख ५० हजार रहेको बताए ।
प्रदेश सांसद साहले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट ५० लाख रुपैयाँ साह सेवा सदनको धर्मशाला निर्माणका लागि दिएकाले सम्मान गरिएको अध्यक्ष साहले बताए । यस्तै, प्रदेशका मन्त्रालयबाट बजेट दिलाउन भूमिका खेलेकाले सांसद सुमनलाई सम्मान गरेको उनको भनाइ छ ।
अन्य चार जनाले संस्थाको भवन निर्माणमा सहयोग गरेको उनले बताए । ‘उद्घाटनमा बोलाइएको थियो । सम्मानका लागि भनेपछि सुनको औंठी दिनुभयो । ग्रहण गर्नैपर्यो,’ प्रदेश सांसद साहले भने ।
अर्का प्रदेश सांसद सुमनले आफूले सदनको धर्मशाला बनाउन मन्त्रालयबाट बजेट व्यवस्थापनमा सहयोग गरेको बताए । ‘सम्मान गर्न बोलाउनुभयो । औंठीसमेत दिनुभयो,’ सुमनले भने, ‘उपहार त महँगै भयो । तर सम्मान गरेपछि लिनैपर्यो ।’
साह सेवा सदनको पहिलो तला निर्माणका लागि सांसद साहले ५० लाख, सामाजिक विकास मन्त्रालयले ४० लाख, पूर्वाधार विकास मन्त्रालयबाट २५ लाख र राजविराज नगरपालिकाबाट ५ लाख सहयोग प्राप्त भएको अध्यक्ष साहले बताए । उक्त रकमबाट १० कोठा, एउटा सानो हल, चार अट्याच शौचालय र बाहिर चारवटा शौचालय निर्माण गरिएको छ । कान्तिपुर दैनिकबाट