काठमाडौं ।
नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री बेलाबेला चचौमा आइरहन्छिन् । मन्त्री पद छाड्न नमान्दा उनी जति चर्चामा आईन्, अहिले पनि चर्चाकै केन्द्रमा छिन् ।
निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको आफ्नै घर शंखमूलमा छ । तर उनले पद छोडेको झण्डै एक साता बितिसक्दा पनि पुल्चोकस्थित सरकारी निवास छोडेकी छैनन् ।
झाँक्रीले क्वार्टर खाली नगरिदिँदा गत सोमबार शहरी विकास मन्त्रीका रूपमा शपथ लिएका मेटमणि चौधरी शंखमूलस्थित डेराबाटै सिंहदरबार आउजाउ गरिरहेका छन् । भेटघाट गर्न, सवारी राख्न समस्या परेको चौधरीले भने ।
चौधरीले सरकारी निवास अहिलेसम्म नछाडेर रामकुमारी झाँक्रीले फेरि अर्को काण्ड मच्चाउन लागेकी भनेका छन् । मन्त्री पद त्याग्नुपरेपछि झाँक्री निक्कै तनावमा परेकी छिन् ।
मन्त्री चौधरी आज दाङ पुगेका छन् । आफू भोलि काठमाडौं फर्किने भएकाले आजै बेलुकासम्म झाँक्रीले क्वार्टर खाली गरिदिने विश्वास उनले व्यक्त गरे ।
झाँक्रीको सचिवालयले भने घर मर्मत गर्नुपरेकाले सरकारी निवासबाट सर्न ढिलाई भएको बताएको छ ।
‘डेरामा बस्ने निवर्तमान मन्त्रीहरूलाई त झट्टै सर्न समस्यै होला तर उहाँको त घरै छ, ढिला नगरिदिएको भए हुन्थ्यो, मन्त्री चौधरीका एक सहयोगीले भने ।
झाँक्री र चौधरी दुवै नेकपा एकीकृत समाजवादीका नेता हुन् । १२ असारमा मन्त्रिपरिषद् हेरफेर हुँदा झाँक्रीको ठाउँमा समाजवादीले चौधरीलाई पठाएको हो । मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा झाँक्रीले आँखाबाट आँसु झारेकी थिइन् ।