काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तत्काल राजीनामा नदिने भएका छन् । आज बसेको नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकलले तत्काल राजीनामा नदिने निर्णय गरेको हो ।
यो सरकार गठबन्धनमा बनेको सरकार भएकोले केन्द्रबाट निर्णय नभएसम्म पाण्डे नेतृत्वकै सरकार यथावत नरहने एकीकृत समाजवादीका एक नेताले बताए । यसअघि प्रदेशको बजेट पारित हुँने बित्तिकै मुख्यमन्त्री परिवर्तन हुने भनिएको थियो ।
मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकार परिवर्तनका लागि माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरुले हस्ताक्षर संकलन अभियानसमेत सुरु गरेका छन् । तर, यसबारे आफूहरुलाई अहिलेसम्म थाहा नभएको एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।
प्रदेश सरकार परिवर्तन हुने या नहुँने भन्नेबारे केन्द्रीय गठबन्धनले जे फैसला गर्छ त्यसै अनुसार कार्यन्वयन हुँने भन्दै ती नेताले अहिले एकीकत समाजवादी केन्द्र नेतृत्वको सरकार परिवर्तन गर्ने कुरा नै नरहेको बताए ।
अविश्वासको प्रस्ताव काँग्रेससहितको गठबन्धनबाट आएमा नयाँ घटना विकास हुनसक्छ । पाण्डेको सरकारलाई नेकपा एमालेले समर्थन गरिदियो भने बागमतीमा गठबन्धमै धक्का लाग्न सक्छ ।
यसकारण पनि काँग्रेसले बागमती प्रदेशको सरकारमा विगतको सहमति अनुसार पाण्डेलाई छाड्न लगाउन खोजिरहेको छ । माधवकुमार नेपालनिकट मानिने पाण्डे पछिल्लो समय फरक तरिकाले सक्रिय भएका छन् । उनी वाम एकताको पक्षमा रहेको बुझिएको छ ।
स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट आफूहरुले धोका पाएको एकीकृत समाजवादीको गुनासो छ । आउँदो संसदीय चुनावमा पनि आफूहरुले ठूलो धोका पाउने भएकोले अहिले नै सहि बाटो लाग्नुपर्ने एकीकृत समाजवादीका नेताहरुको रणनीति छ ।
केही दिनदेखि वामदेव गौतमले नेकपा एकता अभियान नै घोषणा गरेर वाम एकताको प्रयास थालेका छन् । आउँदो संसदीय चुनावसम्ममा वाम एकता गरेर अघि बढ्नुपर्ने भन्दै केही कम्युनिष्ट नेताहरुले दौडधुप गरिरहेका छन् ।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायतसँग भेट गरेका छन् ।