काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहको भेला सकिएको छ । विहीवार बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा भएको भेलामा रचनात्मक बिद्रोह गर्नुपर्ने कुरा समेत उठेको बैठकपछि कांग्रेस नेता चन्द्र भण्डारीले बताए ।
नेपाली कांग्रेसभित्र सभापति शेरवहादुर देउवाले एकलौटी गरेको र सिंगो पार्टीको नेतृत्व गर्न नसकेको भन्दै कोइराला समूहले विद्रोहको चेतावनी दिएको छ ।
कस्तो खालको विद्रोहको घोषणा गर्ने र अबको कदम के हुने भन्ने बारेम शुक्रवारको बैठकले टुंगो लगाउँने उनले बताए । शेखर पक्षको बैठक शुक्रवार अपरान्ह पुनः बस्ने भएको छ ।
सभापति देउवा कांग्रेसको नभएर गुटकोमात्र नेता बनेको यो समूहले निष्कर्ष निकालेको छ । आफूहरुको विचार समूहलाई कसरी लैजाने भन्ने कुरा पनि उठेको भन्दै भण्डारीले चाणक्यले किन चन्द्रगुप्त बनाएका रहेछन् भन्ने कुरा कांग्रेसभित्र देखिएको टिप्पणी गरे ।
देउवा कांग्रेसको सभापतिभन्दा पनि गठबन्धनको सभापतिको भूमिकामा देखिएको विषयमा शेखर समूहमा छलफल भएको छ ।
भण्डारीले भने, ‘देशको अहिलेको समसामयिक राजनीति, हाम्रो गठबन्धन, अहिले देशको आर्थिक अवस्था र भोलि हुने निर्वाचनको बारेमा र अहिले देशमा बढ्दै गएको महँगीको बारेमा हाम्रो लामो छलफल भइरहेको छ । पार्टीको आन्तरिक कुरामा पनि हामीले छलफल गरेका छौँ ।’
उनले फेरि भने, ‘यो भोलि २ बजेसम्मलाई स्थगित गरेर त्यसपछि शुरु हुनेछ । आजको बैठकमा कन्स्ट्रक्टिभ बिद्रोहको पनि कुरा भएको छ । पोल्टिकल सोचाईमा पनि परिवर्तन भएको छ । त्यसको आधारमा हाम्रो विचार समूहलाई कसरी लैजाने भन्ने कुरामा सबैभन्दा महत्वपूर्ण छलफल भएको छ ।’
नेता भण्डारीले छलफलमा राजनीतिक सोचाईमा परिवर्तन र त्यसको आधारमा आफ्नो समूहको विचारलाई कसरी अघि बढाउने भन्ने बारेमा पनि छलफल भएको बताए । उनले बैठक भोलि (शुक्रबार) २ बजेपछि पुनः बस्ने गरी स्थगित भएको बताए ।