काठमाडौं । नेपाली कांग्रेसले एक्लै चुनावमा जाँदा पनि कमजोर नदेखिएको निष्कर्ष निकालेको छ । उपसभापति पूर्णबहादुर खड्काको संयोजक रहेको स्थानीय तह निर्वाचन परिचालन समितिले आज सार्वजनिक गरेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो ।
कांग्रेसले उम्मेदवारी दिएकामध्ये ५२ प्रतिशतमा निर्वाचन जितेको उल्लेख गर्दै प्रतिवेदनमा एक्लै चुनावमा जाँदा पनि कमजोर नदेखिएको निष्कर्ष निकालिएको हो ।
गठबन्धनका कारण १२१ सिटमा मेयर–अध्यक्ष छाडेर ६३२ तहमा मात्रै उम्मेदवार उठाउँदा १८८ अध्यक्ष र १४१ मेयरसहित ३२९ ठाउँमा जित निकालेको कांग्रेसले जनाएको छ ।
यस्तै २१९ ठाउँमा उपमेयर–उपाध्यक्ष छाडेर ५३४ ठाउँमा मात्रै उम्मेदवारी दिँदा १९० उपाध्यक्ष र ११० उपमेयर गरी ३०० पद जितेको छ । जुन उम्मेदवारी दिएको जम्मा ठाउँको ५६ प्रतिशत हो ।
गठबन्धनका आधारमा मेयर–अध्यक्ष लडेका २०९ मध्ये १२८ स्थानमा जित निस्किएको प्रतिवेदनमा भनिएको छ । जुन ६१ प्रतिशत हो । यस्तै उपमेयर–उपाध्यक्ष पदमा गठबन्धनको सहायतामा लडेको ११५ सिटमध्ये ८५ स्थानमा जितेको कांग्रेसले जनाएको छ । जुन ७४ प्रतिशत हुन आउँछ ।
यस्तै गठबन्धनबिना मेयर तथा अध्यक्ष पदमा उम्मेदवारी दिएका ४२३ तहमध्ये २०१ मा जितेको प्रतिवेदनमा उल्लेख छ । जुन ४८ प्रतिशत हुन आउँछ । यस्तै उपमेयररउपाध्यक्ष पदमा उम्मेदवारी दिएका ४१९ तहमध्ये ५२ प्रतिशतमा जित निस्किएको जनाइएको छ । संख्यामा २१५ सिट हो ।