Latest News

रवि लामिछानेको पार्टीले यति छिट्टै ठूलो छलाङ मार्दै, यी हुन् पार्टी प्रवेश गर्न लागेका ‘हाई प्रोफाइ’ हरु

Nepalese Times June 30, 2022 (2 Year ago)    1192 Views

काठमाडौं । रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले आधिकारिकता पाउन बाँकी नै छ । पार्टी घोषणा गर्न नपाउँदै पार्टीको नाम, झण्डा र चुनाव चिन्हमा आलोचना खेपेको यो पार्टीमा समाहित हुनेहरुको लर्को नै लाग्न थालेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विभागीय प्रमुखको जिम्मेवारी नै छाडेर ज्वाला संग्रौला लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेकी छिन् ।

नेप्लिज टाइम्सलाई प्राप्त जानकारी अनुसार एक कार्यक्रम गरी उनी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित हुने तयारी गरेकी छिन् ।उनले राप्रपाबाट राजीनामा दिएर रवि लामिछानेले नेतृत्व गरेको नयाँ पार्टी सम्बन्धी पोष्टहरु सामाजिक संजालमा खुलेरै गरिरहेकी छिन् ।


यस्तै राप्रपाका खेलकुद विभाग प्रमुखको जिम्मेवारी छाडेका दमन बस्नेत पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा लाग्ने भएका छन् । उनले एक विज्ञप्ति सार्वजनिक गर्दै आफू राप्रपामा नरहेको घोषणा गरेका थिए ।

यस्तै सामाजिक तथा राजनीतिक अभियान्ता पुकार बमले पनि सहकार्यका लागि रवि लामिछानेसँग धेरैपटक छलफल गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषण गरेका उनले संगै सहकार्य गरेर अघि बढ्न तयार भएका छन् । समय आएपनि एउटै पार्टीमा रहनेसम्मको कुरा पुकार बमसँग भएको राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताले बताए ।


बम ०७२ सालको भूकम्पमा राहत वितरण, कोरोना महामारीको समयमा विपन्नलाई निशुल्क खाना खुवाउने र अस्पतालमा कोरोना भाइरसका गम्भीर बिरामीका लागि अक्सिजन वितरण अभियानमा सक्रिय थिए ।

२०६९ माघमा सुरु भएको ‘अकुपाइ बालुवाटार’ अभियान, डा। गोविन्द केसीको अभियान, नेपाल खुल्ला छ, ‘नेताज्यू खबरदार, संविधान कहिले?’ जस्ता प्रतिरोधका राजनीतिक अभियानमा पनि उनी सहभागी गिए ।
पछिल्लो समय कोरोना महामारीमा सरकारको रवैयाविरुद्ध १२ दिनसम्म आमरण बसेका बम भद्र प्रतिरोधको अगुवाका रुपमा युवाहरुमाझ परिचित छन् ।

यस्तै नेपाल सुशासन पार्टीका रमेश खरेलले पनि सहकार्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल अघि बढाएका छन् । राजीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको भन्दै खरेलले अघिल्लो वर्ष नै पार्टी खोलेका थिए ।

केही दिनअघि खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेबीच भेटवार्ता भएको थियो । आवश्यक चाँजोपाँजो मिलाएर रमेश खरेलले रवि लामिछानेसँग एउटै पार्टी बनाउने तयरी गरेको स्रोतले जनाएको छ ।


यस्तै राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले पनि रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा लाग्ने तयारी गरेका स्रोतले जनाएको छ । अहिलेका राजनीतिक दलहरुको खुलेरै विरोध गर्दै आएका उनलाई पनि आफ्नो पार्टीमा ल्याउन रवि लामिछाने सक्रिय भएका उनी निकट स्रोतले जनाएको छ ।

यस्तै स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको अबको राजनीतिक यात्रा कसरी अघि बढ्ला भन्ने आम चासो रहेको छ । साहलाई लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीमा आएर राजनीतिक यात्रामा संगै सहकार्य गर्न आग्रह गरेका छन् । तर उनले यसबारे अहिले नै निर्णय गर्नु हतार हुने भनेका छन् ।

प्रतिक्रिया दिनुहोस