काठमाडौं । पछिल्लो ३ घण्टा कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौँ र आसपास धेरै स्थानमा ठुलो वर्षा भइरहेको छ ।
यी स्थानमा थप वर्षा हुने भएकाले उक्त जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तटीय क्षेत्रमा अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।
यता पछिल्लो ३ घण्टा कैलाली, कन्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको छ । कान्द्रा, मोहना, खुटीया लगायत साना नदीमा एक्कासी बाढी आउन सक्ने सम्भावना रहेको छ ।
कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको महाशाखाले जनाएकाे छ । नदीतटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा विहान १० बजे सम्म विषेश सतर्कता अपनाउन महाशाखाले सूचना जारी गरेकाे छ ।
उता रौतहटको गौर र आसपासको क्षेत्रहरूमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको छ। सो क्षेत्र भइ बहने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले बेलुकासम्मै उच्च सतर्कता अपनाउन भनिएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
बुधबार दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
बिहीबार भने देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।