Latest News

जसपाले पनि सबै मन्त्री फिर्ता बोलाउने, मध्यरातमा भयो यस्तो सहमति

Nepalese Times June 28, 2022 (2 Year ago)    484 Views

काठमाडौं । जनता समाजवादी पार्टीले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ ।

सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

बैठकले नयाँ मन्त्री पठाउने अधिकार उपेन्द्रलाई दिने निर्णयसमेत गरेको एक नेताले बताए । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन्।

कार्यकारिणीको बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षीय नेतालाई बोलाइएको थिएन । कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षीय बैठकले बाबुराम भट्टराई, महेन्द्र यादवसहित केही नेताहरूलाई कारबाही गर्ने अधिकार पनि उपेन्द्र यादवलाई दिएको छ

सोमबार बिहान प्रचण्डसँग भेटेका उपेन्द्र यादवले नेकपा एसले मन्त्रीहरू फिर्ता बोलाएर नयाँलाई शपथग्रहण गराएको थियो । त्यसलगत्तै अब आफ्नो पार्टीमा पनि मन्त्रीहरू फेरबदलको लागि सहयोग गर्न आग्रह गरेका थिए ।

प्रचण्डले पार्टीबाट औपचारिक निर्णय गरेर आउन भने पछि सोमबार साँझमा बसेको कार्यकारिणी बैठकले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको बुझिएको छ ।

नेकपा एकीकृत समाजवादीले पनि सरकारमा नयाँ मन्त्री पठाएको छ । एकीकृत समाजवादीका नयाँ मन्त्रीले सोमबार मात्र शपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस