संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले राष्ट्रियसभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन्।
उनले आजको बैठकमा पुगेर सांसदहरुले सोधेका प्रश्नको जवाफ दिएका हुन्।
केही दिनअघि वायुसेवा निगमका कर्मचारीसँग भएको कुराकानीको अडियोबारे प्रष्ट पार्नका लागि सांसदहरुले जवाफ मागेका थिए। सांसद बिमला राई पौडेलले सार्वजनिक माफी माग्नुपर्ने बताएकी थिइन्।
तर, आलेले माफी मागेनन्। उनले बजेटमाथिका प्रश्नहरुको जवाफ दिए। उनले जवाफ दिनेबेलामा पौडेलसहित केही सांसदहरु उठेर विरोध जनाएका थिए। तर, आलेले निरन्तर रुपमा जवाफ दिए।
यता पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राजीनामा पत्र बुझाएका छन्।
संसदीय दलको बैठक बोलाउनुपर्ने मागबाट हस्ताक्षर फिर्ता लिएका उनले पूर्व प्रतिबद्धता अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र थमाएको उनी निकट स्रोतले जनाएको छ।