रुपन्देही । लुम्बिनी प्रदेशका विवादित स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीका ‘प्रेमी’ भनिने एकराज बस्नेतले वलीलाई कारबाी गर्न माग गरेका छन् । उनले आफ्नो परिवारमा उडण्ड मच्चाएको बताउँदै कारबाही माग गरेका हुन् ।
जेठ ३१ गते बस्नेत घरमा नभएको समयमा सुरक्षाकर्मीसहित पुगेर बस्नेतकी श्रीमति र छोरीलाई पिटेको, घरमा तोडफोड गरेकाले वलीलाई कारबाही हुनुपर्ने बस्नेतले माग गरेका हुन् ।
लुम्बिनी प्रदेश सरकारले गठन गरेको छानविन समितिसमक्ष उनले यस्तो बताएका हुन् । बस्नेतको श्रीमतिले वलीले घरमा पुगेर ‘मेरो पोई खोई ?’ भन्दै कुटपिट गरेको, तोडफोड गरेको, छोरीलाई कुटपिट गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् ।
वली र बस्नेतका बीचमा आर्थिक लेनदेनको कारोबार पनि रहेको खुलेको समितिका एक सदस्यले बताए । छानविन समिति समक्ष बस्नेतले वलीलाई केही रकम दिनुपर्ने भएको पनि बताएका छन् ।
जेठ ३१ गते बिहान राज्यमन्त्री वली तुलसीपुर उपमहानगरपालिका वडा नं ५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा गई वलीले एकराजकी श्रीमती मीना र साढे ३ वर्षकी छोरीमाथि कुटपिट गरेकी थिइन् ।
घटना भएको दोस्रो दिन प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री वली घटनाबारे सत्यतथ्य छानबिन गर्न कार्यदल गठन गरेको थियो ।
त्यही छानबिन समितिलाई दिएको बयानमा वाइसियलका नेतासमेत रहेका बस्नेतले आर्थिक लेनदेनको कारोबार वलीसँग भएको स्वीकार गर्दै कारोवार आफूको भएकोले छोराछोरी र श्रीमतीसँग गरिएको दुव्र्यवहार र कुटपिटको सजाय उनले पाउनुपर्ने बताएका छन् ।
आफू घरमा नभएको अवस्थामा परिवार र बच्चामाथि गरेको व्यवहार असोभनीय रहेको भन्दै राज्यमन्त्री वली त्यस बापत कारबाहीको भागिदार हुनुपर्ने उनले छानबिन समितिलाई भनेका छन् ।
आफू र वलीबीच साढे ६ लाख जतिको लेनदेन भएको तर त्यो रकम पनि आफूले राज्यमन्त्रीकै आग्रहमा उनकै काममा खचिएको उनले छानबिन समितिलाई भनेका छन् । उनले राज्यमन्त्री वलीसँग हिसाब मिलान गर्छु भन्दा भन्दै पनि घरमै गएर गरिएको व्यवहार आफूलाई पनि सैय नभएको बताएको स्रोतले बतायो ।
तर राज्यमन्त्री वलीले आफूले सापटी दिएको पैसा पटकपटक माग्दा पनि नदिएको हुँदा बाध्य भएर पैसा माग्न घरै जानुपरेको र आफूलाई त्यहाँ षड्यन्त्रपूर्वक फसाउन खोजिएको दाबी सीमित पत्रकारहरुसँग गर्दै आएकी छन् ।
तुलसीपुर पुगेको राज्यमन्त्री वलीमाथि छानबिन गर्न गठित आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा नेतृत्वको आयोगको टोलीले सरोकारवालाहरूसँग बिहीबार छलफल गरेको थियो ।