Latest News

बालेन र हर्क साम्पाङबारे रवि लामिछानेले दिए यस्तो प्रतिक्रिया

Nepalese Times June 24, 2022 (2 Year ago)    575 Views

काठमाडौं । नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ कुनै पनि अवस्थामा सफल हुनुपर्ने बताएका छन् ।

‘उहाँहरूलाई जनताले वैकल्पिक रुपमा आवश्यकता देखेर मत दिएका हुन्। त्यसैले उहाँहरुलाई असफल हुन छुट छैन’, उनले भने, ‘उहाँहरू सफल हुँदा काम गर्न पार्टीमै हुनुपर्छ भन्ने भाष्य परिर्वतन हुन्छ।’

उनीहरूलाई असफल हुने छुट नभएको भन्दै लामिछानेले काम गरेर देखाउन अनुरोध गरेका छन्। अहिले नै उनीहरूलाई पार्टीमा ल्याउने कि भन्दै गरिएको प्रश्नमा लामिछानेले भने, ‘यस विषयमा अहिले कुनै छलफल भएको छैन। उहाँहरुलाई समेट्न सकिन्छ। तर, पार्टीमा ल्याउनेभन्दा पनि अहिले काम गर्न दिनुपर्छ।’

उनले पूर्व डिआइजी रमेश खरेलसँग भने आफ्नो छलफल भएको बताए। आफूहरुको प्राथमिकता जनताको मुद्दा हुने लामिछानेको भनाइ छ। उनले खरेलसँगको छलफलमा साझा अजेण्डामा काम गर्न सकिने कुराकानी भएको जानकारी दिए।

‘हामीले केही गरेर देखाउने कुरा गरेका छौं,’ उनले भने, ‘अब त अत्ति भयो भनेर हामी एक ठाउँमा उभिएका छौं।’

राजनीतिक पृष्ठभूमिबाट आएकाले मात्र काम गर्न सक्छन् भन्ने भाष्य परिवर्तन गर्न पनि स्वतन्त्र रुपमा निर्वाचित जनप्रतिनिधि सफल हुनुपर्ने उनको भनाइ छ।

यस्तै नयाँ राजनीतिक दल घोषणा गरेका रवि लामिछानले आफ्नो पार्टी कुनै स्वतन्त्र उम्मेदवारविरुद्ध नभएको दाबी गरेका छन्।

उनले पत्रकार सम्मेलनमा बोल्दै यस्तो दाबी गरेका हुन्। स्वतन्त्र रुपमा देखिएको परिर्वतनलाई मद्दत गर्छ भनेर सदुपयोग गर्न खोजेको आरोप गलत भएको उनले जिकिर गरे।

उनले स्वतन्त्र उम्मेदवारी दिने कसैकोविरुद्धमा आफ्नो पार्टी नभएको स्पष्ट पारे। उनले सही उम्मेदवार भएमा आफूहरुले पनि स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने बताए।

उनले निर्वाचन आयोगले स्वतन्त्र पार्टीको नाम नदिएमा विकल्प सोच्न सकिने बताए। अन्तराष्ट्रिय रुपमा स्वतन्त्र दलहरूको नाम देखेकाले यसको चयन गरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस