Latest News

उता एकीकृत समाजवादीमा भाँडभैलो, यता नेता जीवन एमालेमा प्रवेश

Nepalese Times June 24, 2022 (2 Year ago)    563 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जीवन गौतम एमाले प्रवेश गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराएका हुन् ।

त्यसक्रममा अध्यक्ष ओलीले एमालेमा रहेर मात्रै देशमा योगदान गर्न सकिन्छ भन्ने पुष्टि भएको बताए । दाङ जिल्लाका गौतम माओवादी नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् ।

उता नेकपा एकीकृत समाजवादीबाट विद्रोहको तयारी गरेका १० जना सांसदको विषय लिएर पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन् ।

मन्त्रीहरु फेर्ने पार्टी निर्णय नमान्ने भन्दै ‘विद्रोह’को तयारी गरेका उनीहरु एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगेका हुन् । यसअघि ओलीले उनीहरुलाई पहिलेकै घर फर्कन पटक–पटक आग्रह गर्दै आएका थिए ।

अध्यक्ष ओलीले माधव कुमार नेपालबाहेक सबै नेकपा एमालेमा फर्कन भन्दै एमालेका अरु नेताहरुमार्फत पनि विभिन्न चरणमा कुरा पु्र्याउने गरेका थिए । अहिले भने एकीकृत समाजवादीमा विद्रोहको तयारी भइरहँदा उनीहरुसँग छलफल गर्न ओलीले आले र श्रेष्ठलाई बोलाएका बुझिएको छ ।

उनीहरु माधव नेपालको साथ छाडेर एमालेमै फर्कने धेरै समयअघिदेखि चर्चा हुँदै आएको छ । उनीहरुले संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

सरकारमा रहेका मन्त्रीसहित १० जना सांसदहरुले मन्त्री फेर्ने यसअघिको निर्णय नमान्ने संकेत गर्दै सो विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाउन माग गरेका हुन्।

संसदीय दलको बैठक बोलाउन माग गर्नेमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमार झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ, सांसद् कृष्णलाल महर्जन छन्।

यस्तै, सांसदहरु गोपाल बहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पा कुमारी कर्ण कायस्थ, धन बहादुर बुढा र निरा जैरुले पनि संसदीय दलको बैठक बोलाउन माग गर्दै ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन्।

१० जना सांसद्‌हरुले सरकारमा रहेका पार्टीका नेता (मन्त्री) हरुलाई अपराधीको जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टि समेत पोखेका छन्।

प्रतिक्रिया दिनुहोस