काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा पराजित भएका सुमन सायमी अहिले प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने तयारीमा छन् ।
स्थानीय तहको चुनाव सकिएलगत्तै उनले प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने गृहकार्यमा जुटिसकेका छन् ।
उनले आफूमात्रै होइन, अरु स्वतन्त्र उम्मेदवारहरुलाई पनि एकैठाउँमा ल्याउने कोसिस गरिरहेका छन् । स्वतन्त्र उम्मेदवारहरुको संजाल बनाएर अघि बढ्ने सोचसहित उनी सक्रिय भएका छन् ।
काठमाडौंबाटै प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने तयारी गरेका सायमीलाई विभिन्न पार्टीबाटसमेत अफर आउन थालेको छ । उनलाई नेकपा एमालेले पार्टी प्रवेश गरेर काठमाडौंको कुनै एक निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न प्रस्ताव अघि सारेको छ ।
तर, नेकपा एमालेको सो प्रस्तावलाई सायमीले अस्वीकार गरेका छन् । उनले भने, ‘नेकपा एमालेले मलाई पार्टी प्रवेश गरेर टिकट लिन अफर गरेको छ । तर, म अहिले पार्टी प्रवेश गर्ने मूडमा छैन । र प्रवेश गर्दिनँ पनि ।’
उनले बरु स्वतन्त्र उम्मेदवारहरुको संजाल बनाउने अभियानमा सक्रिय भएका छन् । काठमाडौंबाटै चुनाव लड्ने तयारीमा रहेका स्वतन्त्र उम्मेदवारहरु रञ्जु दर्शना, पुकार बमलगायत व्यक्तिहरुसँग उनले निरन्तर छलफल गरिरहेका छन् ।
केही दिनअघि संचारकर्म छाडेर स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हरिशरण लामिछानेसँगसमेत सायमीको भेट भएको थियो । तर, लामिछानेसँग भने सहकार्य नहुँने सायमीले बताउन थालेका छन् ।
पहिलो भेटमा नै लामिछानेले झुक्याउने काम गरेकोले आफूले लामिछानेसँग भेट नगर्ने र उनीहरुसँग सहकार्यसमेत नहुँने उनको भनाइ छ । रवि लामिछाने र हरिशरण लामिछानेले आफूहरुको स्वतन्त्र उम्मेदवारहरुको संजाल गिजोल्ने काम गरेकोसमेत सायमीले बताएका छन् ।
उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितीको अध्यक्ष साथै उपत्यका सरोकार मञ्चक अध्यक्ष हुन सायमी । उनि एक दशकदेखि काठमाडौँका समस्यालाई नियाल्दै आएका अभियान्ता हुन् ।
सायमीले सांस्कृतिक सम्पदा संरक्षणमा आफ्नो आवाज निरन्तर उठाइ रहेका छन् । उनले काठमाडौँ भित्र हुने गरेका विभिन्न समस्यालाई मध्यनजर गरी कसरी आफ्नो परापुर्वकाल देखी चलिआएका तथा रहिआएका हरेक ठुला साना जात्रा पर्व, संस्कृति, परम्पराहरुलाई संरक्षण गर्ने भन्ने कुरालाई जोड दिएका छन् । एक दशकदेखि काठमाडौँको अस्तित्व बचाउने अभियन्ता सायमि सहरको व्यवस्थापनको लागी फोहोर व्यवस्थापनको सपना लिएका छन् ।
गैरन्यायिक सडक विस्तार विरुद्धको नेतृत्व देखी सम्पदा संरक्षण, खोकनाको कृषि भुमि संरक्षण आन्दोलन लगाएत अन्य विभिन्न राजधानीका समस्याहरुमा आफ्नो फ्रन्टलाइनमा बसेर जेल समेत बसेका छन । सायमीले परापुर्वकाल देखी मान्दै आएको मठमन्दिर विहार बाहास् बही, ननी, चुक, गुम्वा, चैत्य, पाटी पौवा फल्चा, गुठी, भाषा, लिपि,जग्गा जमिन र थाक थलो सुरक्षामा लाग्दै आएका अभियान्ता हुन् ।