काठमाडौं । नेकपा एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगले दर्ता गर्न नहुने बताएका छन् ।
चर्चित सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्वतन्त्र पार्टी गठन गरिने कानुन विपरीत भएको बताए ।
‘कानुनत : स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो। व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हो,’ उनले लेखेका छन् ।
स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्न नहुने उनको भनाइ छ ।
पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टी निर्माणको घोषणा गरेपछि उनका समर्थकहरु खुशी मनाइरहँदा उनका आफ्नै दाईले भने घुमाउरो पारामा असन्तुष्टि पोखेका छन् ।
रविका दाजु हरिशरण लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि पोखेका हुन् । रविले ‘परिवारवाद’ देखिने भनेर आफूलाई पार्टीमा स्थान नदिएको भन्दै दुखेसो पोखेका छन् ।
हरिशरणले लेखेका छन्, ‘कुनै पनि नया सदस्यले अब देशभर आफ्नो जन्मकुन्डली लाई अर्को सदस्यसङ्ग भिडाइ नाता ‘अप्रमाणित’ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रवेश गर्नु होला । पछि आपसी मायाप्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है। ‘लामिछाने’ बन्धुहरु सरसल्लाह गर्नुहोला।’
हरिशरणले आफू रविको पार्टीमा आजीवन नलाग्ने घोषणा पनि गरेका छन् । ‘दर्ता हुन बाकी सो पार्टीका कुनै पनि गतिविधीमा म परिवारको नातेदारको नाताले नैतिक रुपले सम्लग्न हुने त कुरै भएन। राजनैतिक रुपले त्यो पार्टिमा म आजिबन रहने छैन भन्ने जानकारी पनि गराउदछु।’ उनले लेखेका छन् ।
स्वतन्त्र र दलगत राजनीतिका आगि आफूसँग अपार सम्भावना र अवसर रहेको हरिशरणको दावी छ । नेपाल आमाको एक स्वतन्त्र नागरिकका नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहने छ ।
३ दशकभन्दा लामो समयदेखि सञ्चारक्षेत्रमा सक्रिय हरिशरण पनि प्रतिनिधिसभाको आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।