काठमाडौं । विवादै विवादमा परेका नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई सरकारले बर्खास्त गर्ने तयारी गरेको छ ।
पर्यटन मन्त्रालयले उनलाई बर्खास्त गर्न प्रस्ताव अघि बढाएको हो ।
उनलाई पर्यटन मन्त्रालयले यसअघि दुईपटक स्पष्टिकरण सोधिसकेको छ । स्पष्टिकरण चित्त नबुझेकाले उनलाई हटाउन लागिएको पर्यटन मन्त्रालयका एक अधिकारीले बताए ।
आफुलाई हटाउन लागेको थाहा पाएपछि अधिकारीले मन्त्री प्रेम आलेलाई बदनाम गराउन लागिपरेका छन् । आलेसँगको विवादको अडियो गोप्य रुपमा रेकर्ड गरी उनले सार्वजनिक गरिदिएका छन् ।
जबकी मुकुली अपराध संहिताअनुसार कसैको अनुमतिविना कुराकानी रेकर्ड गर्न पाइन्न । यसबारे मन्त्रीले आलेले कानुनी परामर्श थालेको उनको सचिवालयका एक अधिकारीले बताए ।
बिचौलियाको काम गर्ने क्याप्टेन उद्धव घिमिरे र अधिकारी मिलेर सो अडियो रेकर्ड गरिएको थियो ।
अध्यक्ष अधिकारी यसअघि निगमकै कर्मचारीमाथि यौनहिंसा गरेको घटनाका आरोपी हुन् । त्यस विषयमा पनि सरकारले थप छानबिन गर्ने भएको छ ।
त्यतीबेला उनले पावर लगाएर पीडितलाई उजुरी गर्न रोकेका थिए । पछिल्लो समय निगमभित्र बेथिती बढेपछि सरकारले उनलाई हटाउन लागेको हो ।