काठमाडौं । चर्चित संचारकर्मी रबी लामिछाने संचारकर्म छाडेर राजनीतिमा होमिने भएका छन् । उनले आउँदो संसदीय चुनावमा काठमाडौंबाटै कुनै एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तयारीसमेत गरेका छन् ।
प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने घोषणा गरेका उनले आफ्नो उम्मेदवारी स्वतन्त्र हुने अथवा कुनै पार्टीबाट हुने भन्नेबारे भने खुलाएका छैनन् ।
आफ्नो राजनीतिको रुपरेखाबारे अहिलेसम्म प्रष्ट नपारेका उनले यहि ७ गतेसम्मको समय मागेका छन् । त्यस दिन आफूले कहाँबाट के–के मुद्धा लिएर चुनाव लड्ने सबै बताउने उनले भनेका छन् । टेलिभिजनको जागिर छाडेर आगामी प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने तयारी गरेका उनलाई विभिन्न राजनीतिक दलहरुले आफूतिर तान्न जोडबल गरिरहेका छन् ।
आफूलाई विभिन्न पार्टीहरूबाट अफर आइरहेको तर निर्णय लिन बाँकी रहेको लामिछाने स्वयंले बताएका छन् । कांग्रेस, एमाले र राप्रपाका विभिन्न तहका नेताहरूसँग लामिछाने संवादमा छन् । स्रोतका अनुसार उनको सबैभन्दा सघन र गम्भीर छलफल चाहिँ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग भइरहेको छ ।
लिङदेनले लामिछानेलाई भेटेरै आफ्नो पार्टीमा आउन प्रस्ताव गरेको राप्रपानिकट स्रोतले बतायो । लामिछानेका ससुरा उद्धव पौडेल हालै मात्र राप्रपा नेपाल त्यागेर राप्रपामा फर्किएका थिए । पौडेलकै मध्यस्थतामा लिङ्देन र लामिछानेबीच संवाद जारी रहेको स्रोत बताउँछ ।
अहिले पद वा जिम्मेवारीभन्दा पनि सैद्धान्तिक विषयमा छलफल भइरहेको स्रोतले बताएको छ । लामिछानेले अहिलेसम्म लिङ्देनलाई ग्रिन सिग्नल भने दिएका छैनन् । राजसंस्थाप्रति सदाशयता राख्ने भए पनि लामिछाने आफूलाई ‘राजावादी’ का रूपमा चिनाउन चाहँदैनन् ।
संघीयताको खारेजी, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीजस्ता विषयमा राप्रपासँग उनको मत मिल्छ । धर्मनिरपेक्षताको विषयमा भने उनले आफूलाई खुलाएका छैनन् ।
रवि लामिछानेसँग निकट अभियन्ता ज्वाला सङ्ग्रौला केही समयअघि राप्रपामा प्रवेश गरेकी थिइन् । यस्तै अर्का चर्चित अभियन्ता ज्ञानेन्द्र शाहीलाई पनि राप्रपा भित्रिएर प्रवक्ता बनेका छन् । यदि लामिछाने पनि आउन तयार भए पदाधिकारीमध्ये कुनै प्रभावशाली पद दिन सकिने मनस्थितिमा छन् लिङ्देन । तर, अहिलेसम्मको कुराकानीमा ठोस प्रगति भएको छैन ।
लामिछानेका शुभचिन्तक तथा समर्थकहरूले उनलाई कुनै पार्टीमा नलागी स्वतन्त्र उम्मेदवारी दिन सुझाव दिइरहेका छन् । स्वतन्त्र लडेको खण्डमा काठमाडौं महानगरमा बालेन्द्र साहले ल्याएको जस्तै उभार ल्याउन सकिने समर्थकहरूको विश्वास छ । तर, लामिछाने भने स्वतन्त्र उठेर जिते पनि ठूलो भूमिका निभाउन नसकिने चिन्तामा छन् ।
यदि राप्रपामा गएनन् भने आफैँ पार्टी गठन गर्न पनि सक्ने निकटस्थहरू बताउँछन् । पछिल्लो समय स्वतन्त्र उम्मेदवारका रूपमा चर्चामा आएका व्यक्तिहरूलाई समेत समेटेर जाने उनको मनसाय छ ।