Latest News

काँग्रेसको प्यानलै निर्विरोध निर्वाचित

Nepalese Times June 15, 2022 (2 Year ago)    536 Views

जिल्ला समन्वय समिति बर्दियाको प्रमुखमा सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । जिसस उपप्रमुख र सात सदस्यमा पनि काँग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

जिसस उपप्रमुखमा अमिताकुमारी यादव तथा सदस्यमा विनय राजभण्डारी, तीर्थप्रसाद जैसी, पुरैलाल थारू, सुनिता नेपाली, छवि भाट, विमला थारू र खगिसरा कामी विक निर्विरोध निर्वाचित भए ।

आठ स्थानीय तह रहेको बर्दियामा पाँचमा काँग्रेस विजयी भएको थियो । गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाको प्रमुख–उपप्रमुख तथा ठाकुरबाबा नगरपालिकाको प्रमुखमा काँग्रेस विजयी भएको थियो ।

राजापुर नगरपालिकाको प्रमुख–उपप्रमुख र बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको थियोे । बाँसगढी नगरपालिकाको प्रमुख–उपप्रमुख, ठाकुरबाबा नगरपालिकाको उपप्रमुख र बढैयाताल गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको थियो।

यस्तै जिल्ला समन्वय समिति धनुषामा नेपाली कांग्रेसको प्यानल निर्विरोध चयन भएको छ । समितिको प्रमुखमा राजनन्द मण्डल राज निर्विरोध निर्वाचित हुनुभएको छ ।

बुधबार जिसस प्रमुख, उपप्रमुखसहित सदस्यमा कांग्रेसको मात्र मनोनयन परेको थियो । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार जिसस उपप्रमुखमा सङ्गीतादेवी ठाकुर निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरूमा ईश्वरीप्रसाद शर्मा, डम्बरबहादुर थापामगर, फगु यादव, महिला सदस्यमा गीतादेवी यादव, विकादेवी मिजार, सोनितादेवी सदा र दलित तथा अल्पसङ्ख्यक सदस्यमा महेन्द्र महतो निर्वाचित भएका छन्। जिसस सदस्यमा पनि कांग्रेसको मात्रै उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया दिनुहोस