काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटामा ओली र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ।
भेटका लागि एमाले अध्यक्ष ओली पक्षबाट माओवादी नेताहरूलाई बोलाइएको थियो। माओवादी केन्द्रका तर्फबाट ओलीसँग भेटका लागि श्रेष्ठलाई पठाइएको थियो।
उनीहरूबीच करिब साढे दुई घन्टा कुराकानी भएको थियो। समसामयिक राजनीतिक परिस्थिति र राष्ट्रिय राजनीतिबारे भेटमा कुराकानी भएको थियो।
बालकोटमा ओलीसँग भेटेलगत्तै श्रेष्ठले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि छुट्टै भेटेका छन्। समसामयिक विषयमा नेताहरूसँग भेटवार्ता हुनु स्वभाविक भएको नेता श्रेष्ठले प्रतिक्रिया दिएका छन् ।
पछिल्लो समय भूराजनीतिक मामिलामा गठबन्धन सरकारले देखिने र बुझिनेगरी चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन दिएको र अमेरिकी सामरिक गतिबिधिमा नेपाललाई सामेल गराएकोमा श्रेष्ठले असन्तुष्टि जनाइरहेका छन् ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले नेपालको परराष्ट्र नीतिविपरीत सरकारले चीनविरोधीहरूलाई चलखेल गर्न दिएको तथा बीआरईका सन्दर्भ प्रधानमन्त्रीले व्यक्त गरेका अभिव्यक्ति र एमसीसीको कथित व्याख्यात्मक घोषणाका नाममा त्यसलाई पारित गरेपछि बढिरहेका अमेरिकी गतिबिधिहरूप्रति चिन्ता व्यक्त गरिरहेका छन् ।
प्रतिनिधिसभामा विपक्षी दलका नेता केपी शर्मा ओलीले यीनै विषयमा गठबन्धनको आलोचना गरेको लगत्तै श्रेष्ठले राष्ट्रियसभामा यीनै प्रश्न उठाएका थिए । राष्ट्रिय हित र विदेश नीतिका सन्दर्भमा ओलीसँग आफ्नो लाइन मिलेको श्रेष्ठले बालको वार्तामा समेत बताएका छन् । मुलुक गम्भीर भूराजनीतिक संकटमा धकेलिन लागेकोमा दुवै नेता चिन्तित रहेको निकट स्रोतले जनाएको छ ।
स्रोतले भन्यो, ‘चिनियाँहरूले के हुन लागेको हो भनेर बारम्बार सोधिरहेका छन् । नेपालले देखिने गरी नै एक चीनि नीतिविपरीत गतिविधि गर्न छुट दिइरहेको छ, अमेरिकी सैन्य रणनीतिको अंग बन्न लागेको पनि देखिन्छ । एक चीन नीति औपचारिकरूपमै छाड्न लागेको हो कि भन्ने प्रश्न पनि उठेका छन् । बीआरआईको सन्दर्भमा प्रधानमन्त्रीले बोलेका कुरा झनै गम्भीर छन् । यी विषयमा प्रचण्डको आधिकारिक दृष्टिकोण के हो रु चिनियाँले पनि सोधेका छन् । मुलतः बालकोट वार्ता यस्तै विषयमा केन्द्रित हो ।’
चिनियाँहरूले वर्षमान पुनमार्फत पनि पछिल्लो अवस्थाको बारेमा चासो राखेका छन् । वर्षमानको उपचारमात्र होइन चीनले जीवनदान नै दिएको चर्चा चल्ने गरेको छ । पार्टीभित्र कांग्रेससँगको गठबन्धन निरन्तरताप्रति वर्षमान त्यति आशावादी नरहेको बताइन्छ । नारायणकाजी श्रेष्ठ पनि वाम पार्टी विभाजित हुँदा नेपाल भूराजनीतिक संकटमा फस्ने खतरा देखिरहेका छन् ।
एमालेको तर्फबाट अध्यक्ष ओलीदेखि भीम रावल, प्रदीप ज्ञवाली, खगराज अधिकारीलगायतका नेताहरूले नेपाल भूराजनीतिक संकटमा फस्न लागेको र सरकारले कोल्टे कुटनीति लिएको भन्दै गम्भीर आपत्ति जनाएका छन् । एमालेले औपचारिकरूपमै सरकारसँग जवाफ मागेको छ । प्रधानमन्त्रीको अमेरिका भ्रमण र त्यसअघि भइरहेका अमेरिकी गतिविधिहरूलाई एमालेले जस्तै नारायणकाजी, देव गुरुङलगायतका नेताहरूले पनि असामान्य भन्दै सरकारको जवाफ मागेका छन् ।