काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित भएलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् ।
नेकपा एकीकृत समाजवादीले आफूले सिफारिस गरेका मन्त्रीको चाँडो शपथग्रहण गराउन दबाब दिइरहेका बेला प्रधानमन्त्री देउवाले बजेट पारित हुनेवित्तिकै मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।
अब नेकपा नेकपा एकीकृत समाजवादीले सिफारि गरेको मात्रै नभई अन्य दलका पनि मन्त्रीहरू फेर्ने गरी छलफल भइरहेको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ ।
स्रोतका अनुसार बजेट पारित भएपछि अर्थमन्त्री फेर्ने सहमति शीर्ष तहमा भएअनुसमार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मा दिने तयारी भएको छ ।
उनलाई अर्थमन्त्री बनाउने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवाले शीर्ष नेतालाई जानकारी गराएका छन् । अर्थमन्त्रालय कांग्रेसले नै राख्न दातृ निकायले समेत सुझाव दिएपछि कार्कीलाई जिम्मा दिन लागिएको स्रोतले जनाएको छ ।
त्यस्तै अर्थमन्त्रालय कांग्रेसले लिएपछि गृह मन्त्रालय माओवादीको भागमा पर्ने एक नेताले बताए । माओवादीबाट उपप्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउन आवश्यक तयारी सुरु भएको छ ।
प्रचण्डले पार्टी बैठकबाट महासचिव लगायत पदाधिकारी चयन गर्नुअघि नारायणकाजीलाई गृहमन्त्री बनाएर विवाद टुंगो लगाउने प्रयत्न गरिरहेको बुझिएको छ । यसअघि नेकपा एकीकृत समाजवादीले आफ्ना नयाँ मन्त्रीहरुको नाम लिस्ट प्रधानमन्त्री देउवालाई बुझाइसकेका छन् ।
यसअघि आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा ६ महिना पूरा भएका मन्त्रीहरू रामकुमारी झाँक्रि, प्रेम आले, कृष्णकुमार श्रेष्ठ र विरोध खतिवडा, मेटमणी चौधरीलाई फिर्ता बोलाउने र उनीहरूको ठाउँमा नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो।
समाजवादीले स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्रीमा बढुवा गर्ने, चौधरीसहित शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठलाई मन्त्री बनाउने र हिराचन्द्र केसीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।