Latest News

संसदीय चुनाव लड्ने रवि लामिछानेका दाई हरिशरणको घोषणा, कहाँबाट उम्मेदवारी दिँदै छन् ?

Nepalese Times June 10, 2022 (2 Year ago)    821 Views

काठमाडौं । केही दिनदेखि लोकप्रिय संचारकर्मी रवि लामिछानेले संसदीय चुनावमा उम्मेदवारी दिने विषय चर्चामा रहेको छ । उनले प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने या के गर्ने भन्नेबारे छलफल चलाइरहेका छन् । तर निर्णयमा भने पुगिसकेका छैनन् ।

विभिन्न पक्षबाट आफूलाई यस्तो आग्रह गरिएको भन्दै उनले केही दिनमा यसबारे टुंगो लगाउने र अहिले लड्छु वा लड्दिन भनेर निधो गरिनसकेको बताएका छन् ।

उनले भने, ‘प्रस्तावहरू त आइरहेका छन् । कतिपय ठूला पार्टीकै नेताहरूले पनि अनौपचारिकरूपमा कुरा गर्नुभएको छ । तर, मैले चाहिँ निर्णय लिइसकेको अवस्था होइन । अहिले छलफल गरिरहेको छु,’ उनले भने ।

तर, लामिछाने परामर्शमा रहेकै बेला उनका आफ्नै दाई हरिशरण लामिछानेले भने उम्मेदवारी घोषणा गरेका छन् । लामो समय रेडियो नेपाालमा समाचार वाचकको रुपमा रहेका लामिछानेले आगामी संसदीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

३ दशक भन्दा लामो संचारकर्मको परिस्कृत अनुभवबाट आफ्नो अन्तस्करणले आफूलाई सिंहदरबारबाट बाहिरिएर देश र जनताको सेवामा फरक भूमिकामा पेश हुन थप प्रेरित गरेको उनले बताएका छन् ।

“परिवर्तन सम्भव छ“ भन्ने मान्यता सहित आगामी संसदीय निर्वचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छु,’ उनले लेखेका छन्,‘सबैको साथ र समर्थनमा यो अभियानमा होमिने छु। बिस्तृत कार्ययोजना र उम्मेद्बारीको औचित्यबारे समयक्रममा औपचारिक घोषणा हुने नै छ।’

‘तपाईहरुको सुझाब,सल्लाह र सहयोगको अपेक्षा गरेको छु। परामर्श जारी छ। हाललाइ फेसबुकबाटै सम्बाद गरौ । यो केवल मेरो रहर मात्र हैन, देशको सेवा गर्ने नयाँ अवसर, चुनौती र समयको आवश्यकता पनि हो ।’ उनले भनेका छन् ।

संसदीय चुनावको मिति घोषणा भइनसक्दै काठमाडौंमा विवेकशीलका पूर्वनेता पुकार बम, विवेकशीलकै पूर्वनेतृ रञ्जु दर्शनालगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यस्तै पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईकी पुत्री मानुषी भट्टराई,सुमन सायमी लगायतले काठमाडौंमा स्वतन्त्र उम्मेवारी दिने बताएका छन् ।यस्तै नेकपा एकीकृत समाजवादीका विद्याथीए नेता सुदेश पराजुली, नेपाली कांग्रेसका रञ्जित कर्णलगायतले काठमाडौंबाट उम्मेदवारी दिने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस