Latest News

मेयर बालेनलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले के भने ?

Nepalese Times June 9, 2022 (2 Year ago)    677 Views

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई बोलाएर काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र महानगरपालिका प्रमुख साहबीच भेटवार्ता भएको हो ।

फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहने भन्दै प्रधानमन्त्रीले बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दिर्घकालिन समाधान खोज्न सुझाव दिएका हुन्।

त्यस्तै, काठमाडौँ महानगरको फोहर व्यवस्थापनका विषयमा देखिएको विवाद समाधानका लागि भोलि वार्ता हुने भएको छ।

काठमाडौँको फोहर बञ्चरेडाँडामा फालेपछि विवाद उग्र बनेको थियो। स्थानीयको सहमति बेगर बञ्चरेडाँडामा फोहर फालेको भन्दै आन्दोलन भइरहेको छ।

मंगलबार र बुधबार फोहर बोकेर गएका सवारीमा स्थानीयले अवरोध गरेका थिए भने प्रहरीले बल प्रयोग गरेपछि अवस्था झनै बिग्रिएको थियो।

विवाद बढ्दै गएपछि त्यसको समाधानका लागि सरकार र आन्दोनरत पक्षबीच भोलि वार्ता हुने भएको हो। भोलिको वार्तामा सरकार तर्फबाट सहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्ष लगायतका सहभागी हुने जनाइएको छ। वार्ता बिहान ८ बजे मन्त्रालयमा हुँदैछ।

यसअघि सहरी विकास मन्त्रालयले सोमबार प्रभावित क्षेत्रका गाउँपालिका नुवाकोटको ककनी र धादिङको धुनिबेसी नगरपालिका प्रमुखलाई राखेर बञ्चरेडाँडामा फोहर फाल्ने सम्झौता गरेको थियो। तर स्थानीयलाई सहभागी नगराएको र प्रभावित क्षेत्रका वडा अध्यक्षलाई नराखेको भन्दै स्थानीयले त्यसलाई अस्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस