काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने तयारी सुरु गरेका छन् । उनले तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने चाहना आफ्नो रहेको बिहीवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । यो उनको गृह क्षेत्र हो ।
स्थानीय तह निर्वाचनको अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण गर्न गठित उपसमितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा पौडेलले तनहुँ २ बाट उम्मेदवार हुने तयारी गरेको जानकारी गराएका हुन् ।
तनहुँमा कांग्रेसका नेताहरु धेरै भएको भन्दै नेता पौडेलले पार्टीले आफूलाई अन्य जिल्लाबाट उम्मेदवार बनाए पनि स्वीकार गर्ने बताएका छन् ।
पौडेल २०७४ सालको प्रदेशसभा निर्वाचनमा तनहुँ २ ‘क’ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार आशा कोइरालासँग ५ मतले पराजित भएका थिए ।
कोइराला १६ हजार ६४६ मत ल्याई निर्वाचित हुँदा पौडेलले १६ हजार ६४१ मत प्राप्त गरेका थिए । तनहुँ २ मा गत निर्वाचनमा कांग्रेसका शंकर भण्डारी पराजित भएका थिए ।
यस्तै लामो समय नेपाल विद्यार्थी संघको नेतृत्व गरेका नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने भएका छन् । आगामी संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने महरको तयारी रहेको उनी निकट नेताहरुले बताएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवासमक्ष समेत महरलाई उम्मेदवार बनाउन प्रस्ताव पुगिसकेको नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ५ का एक नेताले बताए ।
यसअघि उम्मेदवार बनेर पराजित भएका नेता डा। प्रकाशशरण महत नुवाकोटबाट चुनाव लड्ने निश्चित भएसँगै यो क्षेत्रमा महरले उम्मेदवार बन्ने ईच्छा व्यक्त गरेका हुन् ।
नेताहरु प्रकाशमान सिंह, गगनकुमार थापा र प्रकाशशरण महतकोसमेत नैनसिंह महरप्रति सद्भाव देखिएकोले यो पटक उनैले टिकट पाउने निश्चित देखिएको नेपाली कांग्रेसका अर्का एक नेताले बताए ।