काठमाडौं । दैलेखमा जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका बागी उम्मेदवारी विजयी भएका छन् ।
नेपाली कांग्रेसका जिल्ला उपसभापति समेत रहेका नमराज शाही शाहीले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उनलाई नेकपा एमालेले निर्वाचनमा सघाएको थियो । एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी भएका हुन् । उनले निर्वाचन आयोगबाट खरायो चिन्ह प्राप्त गरेका थिए । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी दुर्गा श्रेष्ठले ९ मत ल्याएर पराजित भएकी छिन् ।
२०५८ साल देखि २०६१ सालसम्म माओवादी ज्यादतीका कारण घरबार छोडेर बाहिर बस्न बाध्य भएका काँग्रेस जिल्ला उपसभापति शाही इमान्दार नेताको रुपमा चिनिदै आएका छन् ।
२०४६ सालदेखि नै कांग्रेसमा आबद्ध भएका शाही आफ्नै दलभित्रको समूहका कारण हालसम्म सरकारी लाभको पदमा पुग्न पाएका थिएनन् ।२०७४ सालको निर्वाचनमा आठबीस नगरपालिका वडा नं। ७ बाट नेपाली कांग्रेसको वडाअध्यक्षको उम्मेदवार बन्न चाहेपनि उनले टिकट पाएनन् ।
यसपटक उनले जिल्ला समन्वय समितिको प्रमुख बन्नकै लागि वडा सदस्यमा उम्मेदवारी दिएका थिए भने उनले यसपटक निर्वाचनसमेत जिते । तर जिल्ला समन्वय समितिको प्रमुख बन्न खोज्दा पार्टी भित्रैकाले असहयोग गरेको भन्दै उनले एमालेसँग सहकार्य गरेर गठबन्धनलाई चुनौती दिएका थिए ।
गाउँ कार्य समिति, क्षेत्रीय प्रतिनिधि, दुईपटक क्षेत्रीय सदस्य भइसकेका नेता शाही यसपटक महाधिवेशन प्रतिनिधिमा लडेपनि पराजित हुन पुगेका थिए ।
उपप्रमुखमा भने एमालेका केशवबहादुर शाही विजयी भएका छन् । उनले ११ मत ल्याउँदा उपप्रमुखमा नेकपा एसकी शान्ति शाहीले १० मत पाएकी छिन् । अन्य सदस्यहरूमा भने मिश्रित नतिजा आएको मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामीछानेले बताए ।